सूचनाको शक्ति - The Power Of Information

        

डा. गोविन्द केसीले तोडे अनशन, उपचारका लागि आईसीयूमा भर्ना

काठमाडौं । २८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रह तोड्नु भएको छ । शनिबार राती सरकारसँग ८ बुँदे सहमति गरेपछि उहाँले २८ दिन लामो आफ्नो अनशन तोड्नु भएको हो ।

शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै उहाँले अनशन तोड्नु भएको हो । अनशन तोडेलगत्तै उहाँलाई आईसीयूमा भर्ना गरिएको छ ।

अनसन तोड्दै उहाँले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । यसअघि शनिबार राती डा. केसी र सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले उक्त सहमतिमा हस्ताक्षर गर्नुभएको थियो ।

सहमतिमा डा.केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलगायत ८ विषय उल्लेख छन् ।

यसैबीच सरकार र डाक्टर गोविन्द केसीबीच सहमति डा. केसीले अनशन तोडेलगत्तै नेपाल चिकित्सकले घोषणा गरेको आन्दोलन फिर्ता लिएको छ ।

हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै संघले आजदेखि आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार १७:०९