सूचनाको शक्ति - The Power Of Information

        

नोबेल शिक्षण अस्पतालमा दुई पुरुष संक्रमितको मृत्यु

धरान । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार धरान उपमहानगरपालिकाका ४५ वर्षीय पुरुषको शुक्रबार बिहान करिब ७ बजे र मोरंग रंगेली नगरपालिकाका ७२ वर्षीय बृद्धको बिहीबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

धरानबाट श्वासप्रश्वासमा समस्या देखिएसँगै उपचारका लागि पुरुषलाई असोज १७ गते अस्पतालमा भर्ना गरिएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै बिरामीको सोहीदिन स्वाब नमूना संकलन गरिएको थियो ।

यसक्रममा रिपोर्ट पोजिटिभ आएपछि १८ गते बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको दाहालले जानकारी दिए। बिरामीमा कुनै दीर्घ रोग नदेखिए पनि श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

त्यसैगरि, बिहीबार राती मोरङको रंगेलीका बृद्धको उपचारकै क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार रंगेली नगरपालिका–४ का संक्रमित बृद्धलाई बुधबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर रहेको बिरामीलाई सो क्रममा आइसोलेसनमा उपचार भइरहेको थियो । स्वास्थ्य गम्भीर बन्दै गएपछि बृद्धलाई आइसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनसम्पर्क अधिकृत दाहालले जानकारी दिए।

बृद्धको अस्पतालकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको उनको भनाइ छ ।

मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको जानकारी चिकित्सकलाई उद्रित गर्दै उनले बताए। मृतक दुवै जनाको शवको व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०९:००