सूचनाको शक्ति - The Power Of Information

        

विद्यत् लाइन विस्तारको काम अधुरै

विद्यत् लाइन विस्तार हुन नसकेपछि विद्युत् प्राधिकरणमा केही समयअघि ज्ञापन पत्र बुझाउँदै स्थानीय युवाहरु ।

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१ मा विद्यत् पोल गाडेको ६ महिना पुग्दा पनि लाइन विस्तार हुन सकेको छैन । गत साउनमा लाइन विस्तार गर्न ढिलाइ गरेको भन्दै स्थानीय युवाहरु मिलेर लाइन विस्तार छिटोछरितो गर्न ध्यानाकर्षण पत्र बुझाए पनि हालसम्म पनि ठेकदार कम्पनीले कुनै चासो देखाएको छैन ।

विद्युत् पोल गाड्दा गाउँमा विजुली बल्ने भन्दै खुसी भएका स्थानीयहरु अहिले निराश भएका छन् । गाडिएका पोल पनि ढल्न थालेपछि अब विजुली बाल्ने आस पनि मरिसकेको स्थानीयहरु बताउँछन् । नगरपालिकाको वडा नं. १ मा नगरपालिकाको मापदण्डका आधारमा हुनुपर्ने सुविधाहरु नहुँदा विकासको दृष्टिकोणले विकट तथा पिछडिएको छ ।

लामो समयदेखि ठेकेदार कम्पनीले लाइन विस्तारमा चासो नदेखाएपछि स्थानीय युवाहरुले केही समयअघि विद्युत प्राधिकरणमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीले काम अवरुद भएको भन्दै कामको जिम्मा पाएको अमृत कन्ट्रक्सनले बन्दाबन्दी खुकुलो हुँदासमेत काम नगरेको स्थानीयहरुको गुनासो छ ।

यता अमृत कन्ट्रक्सनका सहायक सुपरभाइजर लालबहादुर बोहोराले भने बन्दाबन्दीसँगै बर्षातको समय भएकाले केही ढिलाइ भएको स्वीकार गरेको छ । बोहोराका अनुसार लाइन विस्तारका लागि धनगढीबाट विद्युत तारहरु आइसकेकोले यही असोज २५ गतेदेखि लाइन विस्तारको कार्य अघि बढ्ने बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १०:५१