सूचनाको शक्ति - The Power Of Information

        

भालुबाङ बजारमा रौनक

‘भालुबाङमा प्रसस्त संरचना छन्, लुम्बिनी प्रदेशको राजधानी सार्न ढिलो गर्नुहुन्न’

दाङ । लुम्बिनी प्रदेश सभामा राजधानी र प्रदेशको नामबारे प्रस्ताव दर्ता गरेपछि राजधानीको बिषयले भालुबाङको चर्चा चुलियो । राप्ती किनारको भालुबाङ बजार दाङको मात्रै बजार होइन, यो रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी लगायतको बजार हो । त्यही भएर भालुबाङ राजधानीको नजरमा परेको स्थानीयको प्रतिक्रिया छ ।

दाङलाई केन्द्रीय राजधानी बनाउने नेपाल मजदुर किसान पार्टीले २०६४ र २०७० सालको निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समेत उल्लेख गरेको थियो । पटक–पटक राजधानीको चर्चामा रहेको दाङ देउखुरी उपत्यकामा लुम्बिनीको राजधानी तोकिएपछि वर्षौदेखिको सपना पूरा भएको स्थानीयहरु बताउँछन् । दाङमा प्रदेश स्तरीय उच्च अदालत र प्रहरी कार्यालय यसअघि नै स्थापना भैसकेका थिए ।

प्रदेश सभाको दुई तिहाइ मतले दाङको राप्ती र गढवा तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्षेत्रलाई तोकेर प्रदेश राजधानी बनाउने निर्णय गरेपछि भालुबाङ बजारमा बेग्लै रौनक छाएको छ । सबै जिल्लाको समान दुरी पर्ने गरी मध्यविन्दुमा प्रदेश राजधानी बसाल्ने निर्णयले सबैको भावनाको उचित कदर गरेको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । ‘यो धेरै सुखद निर्णय हो,’ स्थानीय व्यवसायी टोपबहादुर कार्कीले भने ।

लुम्बिनी प्रदेश सरकारले भालुबाङलाई आधार मानेर एउटा नयाँ शहरको परिकल्पना गरेको छ । ‘लुम्बिनी प्रदेशको राजधानी बनाउने निर्णयको स्वागत गर्दछौं । यो निर्णय चाँडो कार्यान्वयन होस्,’ भालुबाङका अगुवा गुञ्जबहादुर बिष्टले भने, ‘यहाँ संसद बैठक बसाल्न, मन्त्रालय राख्न प्रसस्त संरचना छन् । राजधानी सार्न ढिलो गर्नुहुन्न ।’ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले तत्काल प्रदेश सभा बैठकका लागि संरचनाको अभाव नहुने बताएका छन् ।

उनले राजधानीको लागि चाहिने संरचना राप्ती प्राविधिक शिक्षालयमा रहेकाले तत्काल बैठक बसाल्न, मन्त्रालयको काम कारबाही अघि बढाउन सकिने बताए । ‘हामीसँग संरचना अभाव छैन । जग्गा पनि प्रसस्त,’ उनले भने, ‘१६ विगाहमा शिक्षालयका भवनहरु बनेका छन् । त्यसलाई विकल्प दिएर मन्त्रालय र सदन राख्न सक्छौं ।’ दाङ क्षेत्र सबै जिल्लाको मध्यबिन्दुमा पर्दछ । प्रदेशको सबैभन्दा पश्चिममा रहेको जिल्ला बर्दियासँग दाङको दूरी १९० किलोमिटर छ ।

बर्दियासँगै उसको पूर्वी सीमा साँध रहेको बाँके प्रदेशको अहिले कायम रहेको राजधानीको थलोदेखि लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए । यी दुई जिल्लाले प्रदेशको राजधानी अपायक थलोमा रहेको भन्दै फरक प्रदेश कर्णाली प्रदेशमा गाभिनेसम्मको निर्णय गरिसकेका थिए । यसैगरी प्रदेशको पूर्वी सीमा पश्चिम नवलपरासीबाट दाङको दूरी पनि बर्दियाकै बराबर १९० किलोमिटर छ ।

प्रदेशको पश्चिम पहाडी जिल्ला पूर्वी रुकुमदेखि दाङको दूरी २१० किलोमिटर छ । प्रदेशको पूर्वी पहाडी जिल्ला पाल्पादेखि दाङसम्मको दूरी पनि रुकुम जत्तिकै समान २१० किलोमिटर रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । यसैगरि गुल्मीको उत्तरी भूभागदेखि दाङसम्मको दूरी १५० किलोमिटर छ । प्रदेशको नाम तथा राजधानीका लागि सिफारिस गर्नका लागि बनेको विशेष समितिले निर्माण गरेको विज्ञ समूहले समेत यो क्षेत्रलाई स्थायी राजधानीका लागि उत्तम मानेको थियो ।

प्रदेश सरकारले सिफारिस गरेको देउखुरी क्षेत्रका स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रदेशको स्थायी राजधानीका लागि आफ्नो क्षेत्र उपयुक्त भएको बताएका छन् । ‘उर्वर भूमि,वातावरणीय अनुकूलता अनि सुरक्षा दृष्टिकोणले हाम्रो गाउँपालिका क्षेत्र निकै उपयुक्त छ,’ राजधानीको केन्द्रका रुपमा प्रस्ताव गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने । अहिले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि १५ सय बिघा जमिन प्रदेश सरकारलाई उपलब्ध गराउन सक्ने समेत बताउदै आएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ०९:४४