सूचनाको शक्ति - The Power Of Information

        

राजधानी विवाद :

प्रदेश-५ राजधानी विवाद : दाङको विपक्षमा मतदान गर्न कांग्रेस सांसदलाई ह्वीप जारी

राजधानी र नामकरणको प्रस्तावमा आज मतदान हुँदै

काठमाडौं ।  प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश-५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

आज (मंगलबार) बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निणर्य हुन सक्ने भएकाले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्वीप जारी गरेको कांग्रेसकी सचेतक निमला क्षेत्रीले जानकारी दिएकी छिन् । उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निणर्य भएको तर नामका बारेमा भने कांग्रेसको असहमति नरहेको स्पष्ट पारिन् ।

कांग्रेसले निणर्य गरे पनि कांग्रेसका केही सांसदहरुले ह्वीप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको नेपाली कांग्रेस दाङका एक सांसद बताउँछन् । प्रदेशमा नेपाली कांग्रेसका १९ जना सांसद छन् । यसमध्ये राप्ती र भेरी अञ्चलका ६ जना छन् ।

उनीहरु दाङकै पक्षमा मतदान गर्ने तयारी गरेको ती सांसदले बताएका छन् । प्रदेश सरकारको निणर्यपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।

उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो । मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफ समेत दिइसकेका छन् । प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ ।

नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिने छ । दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ । प्रदेशसभाको बैठक दिउँसो १२ बजे बस्ने छ ।

राजधानी र नामकरणको प्रस्तावमा आज मतदान हुँदै
प्रदेश-५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।

सभामुख पूणर्बहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् ।

बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १०:०७