प्रदेश ५ को नाम र राजधानी करिब करिब तय भएको संकेत छ । उसो त नेपाल हो, पाकी सकेको रोटीको पनि फेरि पिठो बनाउने बबण्डर नहोला भन्न सकिन्न । तर अहिलेलाई बाँके बर्दियाको बहिर्गमनको माग र पिछडिएको क्षेत्रमा विकास गर्न दवावका कारण राप्ती उपत्यकाको नाममा लमहीको दक्षिण कोइलाबासदेखि भालुवाङ्ग हुँदै अर्घाखाँची शीतगङ्गा नगरपालिकासम्मलाई राजधानी प्रस्ताव गरिएको छ ।
गज्जबको राजधानी तय गरिएको छ । गज्जबको किनभने यस राजधानी क्षेत्रलाई प्रदेशका १२ जिल्लामध्ये ६ वटाले छुन्छन्, आकारको हिसाबले यो राजधानी क्षेत्र निकै ठुलो छ । अर्घाखाँचीका एक शीतगङ्गा नगरपालिका र दाङका दुई स्थानीय तह राप्ती र गढवा गाउपालिका समेटिएको छ, यसमा । भारतीय सिमाको कोइलाबासदेखि दाङ र अर्घाखाँचीको पूर्व पाल्पाको सिमासम्म रहेको यस स्थानले प्युठानको दक्षिणी भेग, कपिलवस्तुको पुरै उत्तरी सिमा, रुपन्देही र पाल्पाको पश्चिमी कुनासमेत छुन्छ ।
यसरी यस क्षेत्रको भौगोलिक स्वरुप हेर्दा चुरे पहाड र तिनाउ नदीदेखि वाणगङ्गा, गुडुरुङ, सरयु खोला, धानखोला, शीतखोला हुँदै राप्तीसम्मको पिछडिएको र निकै कम आवादी रहेको क्षेत्र समेटिएको छ र गज्जबको मान्न सकिन्छ । राजधानीले चर्चेको क्षेत्रमा सुपा देउराली मन्दिरको दक्षिण, तराईदेखि उत्तर माडी र झिमरुकको मिलन बिन्दु ऐरावतीदेखि दक्षिण राप्ती, शितखोला र धानखोलाका बेसीहरु र कोइलाबास उपत्यका चाहिँ समथर छन् । अन्य सबै भेग भिरालो, पातलो आवादी र जङ्गल नै छ । भालुवाङ्गबाहेक नाम चलेका लालमटिया, गढवा कोइलाबास, कालाकाटे, शिव गुफा, धानखोला, सिद्धारा, ठाडा, सुवर्ण खाल, बडाचौर, सिमलपानी आदि हुन् ।
राप्तीमा दुई वटा पुल, पूर्व–पश्चिम राजमार्ग र पथ्थरकोटदेखि सुपादेउरालीसम्मको सडकलाई राम्रो संरचना भन्न सकिन्छ, कलकारखाना र उद्योगधन्दा एउटा सिमेन्टको फ्याक्ट्रीबाहेक अरु देखिँदैन भने उच्च शिक्षाको लागि लालमटिया र ठाडामा हाइस्कुल र राप्ती प्राविधिक स्कुल स्थापित छ । अहिलेसम्म राजधानीमा केही विवाद र असहमति देखिए पनि लुम्बिनी प्रदेशको नाममा सर्ब स्वीकारोक्ति रहेको छ, धार्मिक सामाजिक र आर्थिक पाटोमा समानुपातिक महत्वको नाम हो लुम्बिनी । नेपाललाई परराष्ट्र मामिलामा अब्बल हो भन्ने चिनाउन लुम्बिनी सक्षम छ, आन्तरिक र विदेशी पर्यटकको लागि लुम्बिनी अत्यन्तै महत्वपूर्ण छ । राजधानीमा केही विवाद हुनसक्छ । विवादका पाटो सामाजिक राजनीतिक र आर्थिक खासै देखिदैनन् ।
तर व्यक्तिगतरुपमा कारोवार र उद्योग व्यापारसँग हिमचिम भएका नेता र जग्गाको कारोबार, शिक्षा र स्वास्थ्यको बिजनेस गर्नेहरुले केही छलछाम गर्न खोज्न सक्छन् र यसका लागि अवरोध पनि हुनसक्छ । विरोधीहरु चाहना यस्तो हुनसक्छ, राप्ती भालुवाङ्गदेखि शीतगङ्गा नगरपालिकासम्म घडेरी बनाउन प्लटिङ गर्ने राम्रो जग्गा छैन, जग्गा नहुँदा भूमाफियाको खेल खराब हुनसक्छ, बुटवलतिरको अरबौको लगानीमा तुसारो पर्नसक्छ, र हिजो चुनावी भाषणमा दिएको ठुलो आश्वासन ओझेल पर्न सक्छ । खासगरी हिजोका दिनमा भूमाफियाहरुलाई फाइदा पुग्नाले दाङभन्दा बुटवल चहकिलो लागेको हो, डाडा–काँडामा राजधानी बनेपछि जग्गा छैन, खरिद पनि छैन, बिक्री पनि रोकिने भयो । यसको लागि ठुलो विरोध हुनसक्छ । तर बाँके बर्दिया लगायत ९ जिल्लाको लागि अत्यन्तै केन्द्रीकृत स्थल हुने हुँदा सफल भैहाल्छ कि भन्न सकिन्छ ।
कोइलाबासको इतिहास चहकिलो छ, प्युठान, रोल्पा, रुकुम, गुल्मी लगायत हिमाली जिल्लासम्मको भारतीय बजार पस्ने ठुलो नाका थियोे कोइलाबास । २०३० को दशकमा पूर्व–पश्चिम राजमार्ग बनेपछि नेपालगन्ज र भैरहवाले भन्सारजन्य व्यापार खोस्यो, कृष्णनगरले आवतजावत खोस्यो र क्रमशः सुकेको हो कोइलाबास । कोइलाबास सुकेपछि बिस्तारै भालुवाङ्गको क्रेज पनि घट्दै गयो । घोराही र लमहीले आवासीय सहरको रुपमा विकास गरे, बुटवलले बिजनेस बढाउन थाल्यो । बिजुवार, लिवाङ, तुलसीपुर आदि पहाडी बजार आफै नेपालगन्ज बुटवलदेखि कारोबार गर्न थाले । यसरी कालान्तरमा घुमीफिरी आउन लागेका भालुवाङ र कोइलाबासका दिन पुनः उज्यालो होउन् । शुभकामना ।।
बिष्णु पोखरेल ।