सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले आमा रहिनन्, नवजात जुम्ल्याहाको विचल्ली

बाँके । गर्भवती हुँदा नै हल्का रक्तश्राव भइरहेको थियो । धनगढीको सेती अस्पतालमा अशोज १३ गते नर्मल डेलिभरी भयो । दुई बच्चा जन्मिए, छोरा र छोरी । उनी पहिलोपटक आमा बनेकी थिइन् । एकैपटक छोरा र छोरी भए, परिवारमा खुशीको सीमा नै रहेन । खुशीबीच सुत्केरीको रक्तश्राव नरोकिएपछि चिन्ता थपियो । पाठेघरको शल्यक्रिया गरियो ।

बिरामीलाई ८ प्वाइन्ट रगत र ४ पिन्ट प्लेटलेट रगत दिइयो । सुत्केरीको अवस्थामा सुधार आएन । अशोज १४ गते कोरोना जाँचका लागि स्वाब लिइयो । त्यही दिन रिपोर्ट पोजिटिभ आयो । यता सुत्केरीको अवस्था नाजुक भइरहेको थियो । भोलिपल्ट बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइयो । साँझ ४ बजे मेडिकलले भर्ना गर्यो ।

मेडिकल कलेज, कोहलपुरमा ल्याउदा बिरामी बेहोस थिइन् । मेडिकल कलेजले एन्टीबायोटिक अक्सिजनलगायत रोगको प्रकृति अनुसारको सबै प्रकारको सपोर्टिङ्ग उपचार गर्यो । बिरामीको अवस्थामा सुधार आएन । अन्ततः आइतबार बिहान ४ः३० बजे उनको मृत्यु भयो । २९ वर्षीया यी महिलाको शव बाँकेमा छ । उनको शवलाई यही व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले घरपरिवारले शवलाई घरमै लैजाने बताए पनि लैजान गाह्रो भएकाले यतै व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए । उनले जन्माएका दुई बच्चा सेती अस्पतालको एनआइसीयु कक्षमा छन् । सकुशल दुई बच्चालाई जन्म दिएकी आमा भने संसारमा रहिनन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १५:०७