सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमा समृद्धिको आशा

एक दशकपछि बझाङमा परीक्षण उडान, नियमित उडान भए नागरिकको ज्यान सुरक्षित

बझाङ । करिब एक दशकपछि बझाङमा जहाज सञ्चालन हुने सम्भावना बढेको छ । शनिबार बझाङ रहेको बिमानस्थलमा परीक्षण उडान गरेपछि बझाङमा जहाज सञ्चालन हुने सम्भावना बढेको हो । २०६५ सालदेखि बन्द रहेको चैनपुरस्थित देवल विमानस्थलमा परीक्षण उडान गर्दै समिट एयरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो ।

संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महर लगायत जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले विमानस्थलको निरिक्षण गरेका हुन् । विमानस्थल परीक्षणकै क्रममा दिपायल विमानस्थलमा परीक्षण उडान गरी १२ः३० बजे बझाङ उडेको जहाज १२ः४५ मा देवल विमानस्थलमा अवतरण गरेको थियो ।

जहाजलाई नियमित उडान भर्न विमानस्थल योग्य छ कि छैन भनेर परीक्षण उडान गरिएको जनाइएको छ । परीक्षण उडानका क्रममा पर्यटन मन्त्री भट्टराईसहित अन्य नेता र समीट एयरका क्षेत्रीय निर्देशक लगाएको टोली बझाङ पुगेको थियो । विमानस्थल कालोपत्रे गर्नुअघि स्थलगत परिक्षण गरिएको विमानस्थलमा दोस्रो पटक सफल अवतरण गरिएको हो ।

यस अघि पनि नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई निरिक्षण गरिएको थियो । कालोपत्रेको काम सम्पन्न भएपछि विमानस्थल निरीक्षणका क्रममा शनिबार पर्यटनमन्त्री भट्टराई पत्रकारहरुसँग कुराकानी गर्दै बझाङको विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न सकिने भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताए ।

मन्त्री भट्टराईले भने, ‘बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह पर्यटकीय सम्भावना बोकेका खप्तड, साइपाल लगायतका क्षेत्रमा पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । साथै यहाँका जनताको आयस्रोतमा पनि वृद्धि हुनेछ ।’ समिट एयरका क्षेत्रीय निर्देशक सरोजप्रसाद उप्रेतीले बझाङ विमानस्थलमको सफल परिक्षण भएको भन्दै आगामी दिनका जहाज उडाउन सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

बझाङमा नियमित जहाज उडाउने कुरामा आफुहरुले कसरी अघि बढ्न सकिन्छ भनेर योजना बनाइरहेको पनि उप्रेतीले बताए । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर गुडथापाले भौगोलिक बिकटता र जनसंख्याको चाप कम भएका कारण जहाज नियमित उडान हुने कि नहुने भनेर अहिले भन्न नसकिने बताए । उनले भने ‘बझाङमा जनसंख्याको चाप कम भएको र जहाज नियमित उडान गर्न निजी जहाज कम्पनिले मान्ने नमान्ने कुरामा निर्भर गर्छ ।’

उनले बझाङबाट आगामी दिनहरुमा प्रदेश राजधानीको विमानस्थलमा नै जहाज उडान हुने र त्यहाँसम्मका लागि यात्रुहरुले तीन हजार पाँच सयदेखि चार हजारसम्म तिर्नुपर्ने बताए । विमान सेवा सुचारु हुनुपर्ने माग गर्दै पटकपटक केन्द्रसम्म धाएका यहाँका स्थानीयहरु परीक्षण उडान सुरु भएपछि खुशी भएका छन् । हप्तामा कम्तीमा दुइ उडान हुनसके यहाँका नागरिकलाई राहत हुने र जिल्लाको पर्यटन विकासमा टेवा पुग्नेछ ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगमबाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् ।

२०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो । बढीजसो बझाङ नेपालगन्ज उडान सञ्चालन गर्ने विमान कम्पनीहरुले नेपालगन्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएकाले उडान बन्द गरेको बताए थिए । यद्यपी धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई तीन वटासम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन् ।

तर धनगढी विमानस्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनीहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् । विमान सञ्चालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । हाल बेवारिसेजस्तै बनेको विमानस्थल स्थानीयको खेल मैदान र गौचरनमा परिणत भएको छ भने विमानस्थलको टावर रहेको भवन शौचालयमा परिणत भएको छ । केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झ्याल ढोका पनि फुटाइएका छन् ।

हिउँदे बर्षा भएको वेला र बर्खाकोे समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने र गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनी ज्यान गुमाउने गरेका छन् भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन् । गत वर्षमात्रै जयपृथ्वी राजमार्ग पटकपटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागि धनगढी लैजादै गर्दा पाँच जना विरामीले बाटोमै ज्यान गुमाएका छन् । अब नियमित उडान भर्न सके धेरैको ज्यान जोगिने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार ०७:५०