बाँके । नेपालगन्ज त्रिभुवन चौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाईमार्फत अब चाँडै सडक तथा नाला निर्माण हुँदैछ । सदरलाइन सडक विस्तारमा देखिएको विवाद र निकासबारे सम्वाद समूह बाँकेले पटकपटक गरेको सम्वाद प्रक्रियापछि घरधनीहरु स्वस्फूर्त घर भत्काइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघ, सम्वद्ध वडा अध्यक्ष, सरोकारवाला घरधनी लगायतसँगको सम्वाद प्रक्रियापछि सबै पक्ष उत्साहित मात्र हैन, सडक विस्तारमा अग्रसर पनि देखिएका हुन् । स्वस्फूर्त घर र पसल भत्काउन सामुहिक तयार भइसके पनि परियोजनाले फेरी प्रत्येकसँग छुट्टा छुट्टै लिखित सहमती माग्ने (फर्म भर्ने) जनाएपछि देखिएको अन्यौलता पनि सम्वाद समूहको सहजीकरणपछि सहज भएको छ ।
परियोजनाको फर्ममा घरको पेटी (वरान्डा, पर्खाल) एवं सेड व्याक एक फुट छोडने र घर वराण्डाको दोस्रो पिलर नभत्काउने गरी यसअघि भएको सहमतीलाई कार्यान्वयन गर्न विनाशर्त राजी खुसी छौं भन्ने लिखित हस्ताक्षरसहितको प्रतिवद्धता मागिएको छ । समूहका सहजकर्ता शुक्रऋषि चौलागाईको अग्रसरतामा आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाको समुपस्थितीमा बसेको वडा अध्यक्ष र घरधनीसँगको सम्वादमा अधिकांसले घर भत्काइसकेकाले औपचारिक (लिखित) प्रतिवद्धता गर्न कुनै कन्जुस्याई नगर्ने घरधनीले जनाएका हुन् ।
उपमहानगरपालिकाका प्रमुख राणाले सरकारी प्रक्रिया, कानूनी तथा प्रविधिक चुनौतीका कारण केही ढिलाई भएपनि अब पर्खन पर्ने र छुट्टै सहमती गर्ने अवस्था नआउने स्पष्ट पारे । यसैवीच फाराम भर्न आवश्यक सहजीकरणका लागि वडा अध्यक्षहरु उज्वलसिंह राठौर, मोंअयूव सिद्दिकी, सुरेन्द्र गुप्तासहितको ११ सदस्यीय समन्वय समितिसमेत निर्माण गरिएको छ । २१९ घरधुरी रहेको सदरलाइन क्षेत्रमा फाराम भर्न सहज बातावरण सिर्जनाका लागि स्वयं नगर प्रमुख राणा, उपप्रमुख उमाथापा मगर, अगुवा उद्योगी व्यवसायीसहितको टोली पनि केहीबेर खटिएको थियो ।
परियोजनाका टिमलिडर डा जनार्दन आचार्य, इन्जिनियनर शैलेन्द्र महजर्नसहितको एउटा टिम भने मंगलबार दिनभर घरधनी भेटन र फाराम भर्न व्यस्त रह्यो । हस्ताक्षरसहितको सहमती गर्नुपर्ने अनिवार्यतालाई पुरा गर्न क्रियाशिल रहेको इन्जीनियर महजर्नले बताए । सदरलाइन सडक विस्तारको कामको जिम्मा (ठेक्क) यसअघि नगरको सडक तथा ढल निर्माण गरिसकेको बहुचर्चित कम्पनि कालिका कन्सट्रक्शनले पाइसकेको छ ।
।