सूचनाको शक्ति - The Power Of Information

        

२५ वर्षदेखि बन्द पाटन विमानस्थलमा परीक्षण उडान

बैतडी । विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि परीक्षण उडान भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट समिट एयरबाट डोटी, बझाङ र बैतडीको पाटन विमानस्थलको परीक्षण उडान गरिएको हो ।

परीक्षण उडानका क्रममा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफै सहभागी हुँदै बैतडीको पाटन विमानस्थलमा ओर्लिएका मन्त्री भट्टराईले २९ वर्षअघि बैतडी आउँदा पाटन विमानस्थलमा गिद्धले ठोकिएको विमान रोकिएको देखेको स्मरण गरे ।

आफू दुईदिन गाडीको यात्रा गरेर विद्यार्थी संगठन विस्तार गर्न बैतडी पुगेको मन्त्री भट्टराईले स्मरण गर्दै आज मन्त्रीका रुपमा पाटन विमानस्थलको धावनमार्गमा परीक्षण उडान गर्न आईपुगेको बताए । मन्त्री भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा हप्तामा दुईदिन नियमित उडान हुने बताए ।

मन्त्री भट्टराईसँगै डोटीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद प्रेम आले, बैतडीका दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट पनि परीक्षण उडानमा सहभागी थिए । बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले पाटन विमानस्थलको टर्मिनल हाउस, घेर पर्खाल निर्मार्णका लागि मन्त्री भट्टराई समक्ष माग राखेका थिए ।

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो । २० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीन वर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्रे गर्न ११ करोड खर्च भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार १७:३४