जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब दिन नसकेको जनाएको छ । दोस्रो चौमासिकको तलब लिन नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् ।
बर्सेनि दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र बुझ्ने गरे पनि यो वर्ष गाउँपालिकाले झन्डै फागुनतिर मात्र तलब पाउने बताएपछि समस्यामा परेको कोइलीचरी मावि, लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताए । ‘सरकारले ७ महिनाअघि शिक्षकलाई निजामती कर्मचारीलाई झैँ मासिक तलब दिने कुरा अखबारमा आएको थियो, आखिर ७ महिनापछि चौमासिक तलब खानसमेत पाउने अवस्था आएन,’ शिक्षक सिंहले भने ।
जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले विनियोजन विधेयकले एक तिहाइ तलव मात्र खुवाउने भनेकाले शिक्षकलाई तलब दिन समस्या भएको बताए । ‘यो समस्या जिल्लाका आठै स्थानीय तहमा छ, चैतमा सोधभर्ना गर्नेगरी विभिन्न शीर्षकबाट मिलाएर अन्य स्थानीय तहले खुवाएको र कनकासुन्दरीले त्यसो नगरेको हुनसक्छ,’ जिशिअ श्रेष्ठले भने । उनका अनुसार स्थानीय तहको पहिलो अभ्यास र गाउँपालिका अनुसारका शिक्षकको सबै तहको तथ्यांक अध्यावधिक नभएकाले अहिले यो समस्या देखिए पनि आगामी वर्ष व्यवस्थित हुनेछ ।
शिक्षकले प्रत्येक चौमासिकको तलब बेलैमा पाउन नसक्नुको कमजोरी गाउँपालिकाको नभई मन्त्रालयको भएको कानकासुन्दरी गाउँपालिकाका स्रोतव्यक्ति नारायण चौलागाईंले बताए । चौलागाईंले भने, ‘यो गाउँपालिकाका जम्मा २६ विद्यालयका १ सय ७ शिक्षक समस्या परेका छन् ।’ पहिलो चौमासिकमा पनि ४१ लाख रुपैयाँ अपुग हुँदा मिलाएर तलब वितरण गरेको उनले जानकारी दिए ।
अहिले तलब खुवाउन १ करोड ८१ लाख रुपैयाँ आवश्यक पर्नेमा ३१ लाख रुपैयाँ अपुग रहेको उनको भनाइ छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले शिक्षकको समस्यालाई बेलैमा सम्बोधन गर्ने प्रयास भएको जनाएका छन् । अपर्याप्त बजेट निकासाका कारण पहिलो चौमासिकसहित दोस्रो चौमासिकमा यही समस्या बल्झेको उनी बताउँछन् । रासस
।