सूचनाको शक्ति - The Power Of Information

        

भारत लैजाँदै गरेका २० बालकको उद्धार

जुम्ला । तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको मंगलबार दिउँसो उद्धार गरेको छ । उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक चुडामणि पुनले जानकारी दिएका हुन् ।
यता कुडारी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल बस्नेतले नेपालगन्ज जाँदै गरेको गाडीको जेकजाँचका क्रममा २० जना बालबालिका भेटिएको बताए । ‘उनीहरूलाई कहाँ जाने भनेर सोधपुछ गरे, लामा पढ्न भारत जाने भनेपछि उनीहरूलाई लैजाँदै गरेका दुई जनासँग कागज मागे तर भेटाइन । पछि सबैलाई जाँचबुझ गरेर मात्र छोड्नुपर्छ भनेर जिल्ला पठाएँ ।’ उनले भने ।
सबै बालकलाई आज जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलमा राखिएको छ । अभिभावकको सहमतिमा लिन थालिएको भनिएपनि आधिकारिक कागजात केही नभएको र बालकहरूलाई भारततर्फ लैजाँदै गरेका पातारासी गाउँपालिकाकै दुवै जनालई अनुसन्धानका लागि हिरासत कक्षमा राखिएको निमित्त प्रनाउ पुनले बताए । आधिकारिक कागजात विना भारत लैजाँदै गरेका बालकहरूका अवस्थाका बारेमा बुझ्न पातारासी गाउँपालिकाका अध्यक्ष र अभिभावकलाई बोलाइएको पनि उहाँले जानकारी दिए । रासस

प्रकाशित मिति : २६ पुष २०७४, बुधबार ०४:२९