सूचनाको शक्ति - The Power Of Information

        

बली दिन भारत लैजाँदै गरेका दुई युवतीको उद्धार, भिनाजुसहित दुई पक्राउ

सुनसरी । प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारत सीमा क्षेत्रबाट दुई युवतीको उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी घर भएका दुई युवतीलाई भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट युवतीको उद्धार गरिएको नायव उपरीक्षक कार्कीले बताए । शङ्का लागेर सोधखोज गर्ने क्रममा उनीहरुलाई बली दिन लैजान लागेको खुलेको प्रहरीले जनाएको छ । किशोरीसँगै रहेका २ पुरुषलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका १९ र २२ वर्षका युवती छन् ।

युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले जानकरी दिए । नियन्त्रणमा लिएका एक व्यक्तिले आफू युवतीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् ।

नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको उनले बताएका प्रहरीले जनाएको छ । सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो ।

त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो । सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रुपैयाँ रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेका प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । रासस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ०९:०९