काठमाडौं । राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष बामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेका छन् ।त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले गत साता गौतमको मनोनयन ‘यथास्थितिमा राख्नु’ भन्ने आदेश गरी थप संवैधानिक जिम्मेवारी नदिनु भनेको थियो ।
संवैधानिक इजलासले दुवैपक्षको तर्क सुनी गौतमको मनोनयनमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गर्नेछ । आदेश जारी गरेमा गौतमले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पाउने छैनन भने अन्तरिम आदेश जारी नगरेमा उनले मनोनयनअनुसारको अरु जिम्मेवारी लिन कानुनी रुपमा बाधा पर्नेछैन ।
सत्यपाटी ।