सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरीमा किट अभाव, कोरोना परीक्षण प्रभावित

फाइल तस्वीर

बाँके । भेरी अस्पताल नेपालगन्जको कोरोना परीक्षण प्रयोगशालामा पीसीआर परीक्षणका लागि रिएजेन्ट किट अभाव भएको छ । किट अभावका कारण स्वाब सङ्कलन र परीक्षणमा कठिनाइ भएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले प्रयोगशालामा एक सातादेखि किट अभाव भएको जानकारी दिए ।

पीसीआर परीक्षणका लागि विभिन्न चरणमा रिएजेन्ट किट आवश्यक पर्छ । केही दिनअघि बर्दियाका स्थानीय तह र विभिन्न सङ्घसंस्थाले ९६० थान किट उपलब्ध गराएका थिए । त्यसअघि प्रदेश सरकारबाट १०० थानमात्रै किट उपलब्ध भएको र त्यो तत्कालै सकिएको भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले जनाएको छ ।

‘बर्दियाका स्थानीय तहले पठाएको किट बर्दियाबाट प्राप्त हुने स्वाब परीक्षणमा प्रयोग गरिएको छ,’ अध्यक्ष धितालले भने, ‘केही दिनदेखि किट अभाव भएपछि पर्याप्त परीक्षण हुनसकेको छैन । स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुनुपर्ने रिएजेन्ट किट पटक पटक अभाव हुँदा पीसीआर परीक्षण कार्य प्रभावित हुने गरेको छ । यसले पीसीआर नतिजामा समेत विलम्ब हुने गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार ०९:४०