सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा १५०७ जना कोरोनामुक्त, ३५१ जना आइसोलेसनमा

फाइल तस्बीर

बाँके । बाँके जिल्लाका विभिन्न आइसोलेसनमा रहेका १५ महिलासहित ४४ जना कोरोना सङ्क्रमित मङ्गलबार निको भएर घर फर्किएका छन् । भदौ ३० गते कोरोना सङ्क्रमित भएर आइसोलेसनमा १४ दिन पूरा गरेपछि डिस्चार्ज भई घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनले पछिल्लो समयमा बाँकेमा दिनदिनै निको हुनेहरु बढ्दै गएको बताए । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार हालसम्म बाँके जिल्लामा एक हजार ८७३ जना कोरोना सङ्क्रमित देखिएकोमा उपचारपछि एक हजार ५०७ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आइसोलेसनमा हाल ३५१ जना उपचार गराइरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा बिरामी निको हुने प्रतिशत बढ्दै गएको छ । दुई दिन अघिसम्म जिल्लामा निको हुने दर ८१ प्रतिशत रहेकोमा मङ्गलबार ८१.२ प्रतिशत पुगेको छ । जिल्लामा सङ्क्रमितको मृत्युदर ०.७० प्रतिशत रहेको र रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको छ । हालसम्म यस जिल्लामा चार महिलासहित १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १५:५३