सूचनाको शक्ति - The Power Of Information

        

अपराध

नेपालगन्जमा सुरु भयो ‘लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान’

बाँके । बाँकेमा लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बाट महाअभियानको शुरुवात भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगन्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा अभियान शुरु भएको हो ।

महाअभियानको शुभारम्भ गर्दै बाँकेका प्रहरी उपरीक्षक ओम रानाले लागुपदार्थ नियन्त्रण ठूलो चुनौतिकारुपमा रहेको उल्लेख गर्दै बालबालिकालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन सकसपूर्ण भएकोले अभिभावकहरुलाई निगरानी गर्न सुझाव दिए । बाँकेमा ८० प्रतिशत लागुऔषध कारोवारी, दुर्व्यसनी रहेका जानकारी दिँदै उनले चोरी, डाँका, लुटपाट, झैझगडामा अधिकांश लागुऔषध प्रयोगकर्ताहरुनै देखिएको जानकारी दिए ।

प्रहरी उपरीक्षक रानाले प्रहरी एक्लैले मात्र अपराध न्यूनीकरण गर्न नसक्ने भएकाले समुदायको सहयोग आवश्यक रहेकोमा जोड दिए । वडा नं. ४ बाट महाअभियानको शुभारम्भ गरेकोमा प्रहरीलाई धन्यवाद दिँदै वडाध्यक्ष सफिक बेहनाले लागुऔषध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । आफ्नो बालबालिकालाई पर्याप्त समय दिन अभिभावकहरुलाई आग्रह गर्दै उनले छोराछोरीमाथि निगरानी र हेरचाह बढाउन सुझाव दिए । प्रहरीले यो अभियान जिल्लाभरी नै सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १६:१६