काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि भन्दै १९ औं पटक सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलमा शनिबार गरिएको प्रदर्शनमा सहभागि करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।वरिष्ठ चिकित्सक डा. केसीको जीवन रक्षा र उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको माग गर्दै समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गरेका थिए ।
जुम्लाबाट अनशन थाल्नु भएका डा. केसी हाल काठमाडौंको शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ र त्यहीँबाट अनशनलाई निरन्तरता दिइराख्नुभएको छ ।
जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याइएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
सत्यपाटी ।