सूचनाको शक्ति - The Power Of Information

        

सप्तरीका नदीमा बहाव तीव्र, सतर्क रहन विभागको आग्रह

काठमाडौं ।  लगातारको झरीले सप्तरीका खोलाहरूमा बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् । जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।

मौसम विभागले पनि सप्तरी र सिरहामा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यहाँका खाडो, बलान, महुली, खुटीलगायत नदीमा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा पर्न सक्ने भन्दै विभागले सचेत गराएको हो ।

‘पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र सिरहाका केही स्थानमा ठूलो वर्षा भएको छ,’ विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको सूचनामा उल्लेख छ, ‘तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहौं ।’

खाडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी–कोइलाडी गाउँपालिका–१ को बेल्ही टोलमा बाढी पस्ने जोखिम रहेको उक्त गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

वर्षाको पानीको निकास नहुँदा सदरमुकाम राजविराजको वडा नम्बर ५ का एक सय घरमा पानी पसेको वडाध्यक्ष समीरकुमार झाले बताए । वडा नम्बर ६ मा पनि ५० घरमा पानी पसेको वडाध्यक्ष प्रेम यादवले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १०:३६