सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक

एसिड पीडितका पक्षमा सरकारले ल्यायो अध्यादेश, जन्म कैदसम्मको सजाय हुने

खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गरिने

काठमाडौं ।  सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ ।

प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश पारित गरेको हो ।

पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ । संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश गरिने छ ।

गत २५ भदौमा एसिडपीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा सजायँको व्यवस्था हुने गरी १५ दिनभित्र कानुनको मस्यौदा ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिनु भएको थियो ।

जसअनुसार एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैद हुनेछ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजायँ तोकिएको छ ।

एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजायँ तोकिएको छ भने एसिड आक्रमण गर्नेहरुलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ ।

एसिड आक्रमणकारीलाई जघन्य अपराधीसरह कारबाही गर्ने, सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने, भरणपोषण गराउने, छिटो अस्पताल पुर्‍याउने व्यवस्था गर्नेलगायतका विषय समेटेर मस्यौदा ल्याउन उहाँले निर्देशन दिनुभएको थियो ।

पीडितलाई वीर अस्पताल र शिक्षण अस्पतालमा उपचारको व्यवस्था गर्ने, पीडितको उपचार खर्च सरकारले व्यहोर्ने, निःशुल्क पठनपाठन, सीपमूलक तालिम र रोजगारीको व्यवस्था सरकारले गर्ने पनि सरकारको प्रतिबद्धता थियो ।

अब एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने छ भने खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गरिने छ । एसिडको बोतल अरु खाद्य वस्तुको बोतलको बनावट र रङसँग मिल्ने गरी बनाउन पाइने छैन । बोतलमा उत्पादकको नाम र त्यसको मात्रा उल्लेख गर्नुपर्नेछ ।

बिक्रेताले प्रमुख जिल्ला अधिकारीसँग एसिड बिक्री वितरणको लाइसेन्स लिनुपर्ने र हरेक वर्ष नवीकरण गर्नु पर्नेछ । बिक्रेताले आफूले ल्याएको एसिडको परिणाम र बेचबिखनको तथ्यांक राख्नुपर्ने छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०७:५३