काठमाडौं । विश्वभर कोरोनाका कारण पौने १० लाखभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनामा ५ हजार ७२१ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४७१ पुगेको हो ।
त्यस्तै अहिलेसम्म तीन करोड १७ लाख ७७ हजार ९८७ जनामा कोरोना संक्रमण देखिएको छ । वितेका २४ घण्टामै २ लाख ७६ हजार ३६७ संक्रमित थपिएका छन् भने २ करोड ३३ लाख ९४ हजार ८४५ जना कोरोना जितेर घर फर्केका छन् ।
अहिले संक्रमितको संख्या ७४ लाख ७ हजार ६७१ रहेको छ । जसमध्ये ६२ हजार ८३ संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा गएको २४ घण्टामा मात्रै ९६९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख ५ हजार ४७१ पुगेको छ ।
अमेरिकामा अहिलेसम्म ७० लाख ९७ हजार ९३७ संक्रमित छन् । त्यस्तै भारतमा संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ, भने ९० हजार २१ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी संक्रमित तेस्रो मुलुक ब्राजिलमा ४५ लाख ९५ हजार ३३५ संक्रमित छन् भने एक लाख ३८ हजार १५९ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।
सत्यपाटी ।