सूचनाको शक्ति - The Power Of Information

        

लमजुङको राइनास होमस्टेमा पर्यटकको आर्कषण


तारा चापागाई । लमजुङ । लमजुङको राइनास नगरपालिका–९ मा अवस्थित राइनास होमस्टे यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । २०७२ सालको भूकम्पले बस्तीमा क्षति पुगेपछि नतासा नाम गरेकी अमेरिकी बिदेशी पर्यटकको सहयोगमा १३ घर निर्माण भएसँगै स्वदेशी तथा बिदेशी पर्यटकको आगमन बढेको हो । समुन्द्री सतहबाट १८०० मीटरको उचाईमा रहेको राइनासकोटबाट सनराइज, अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङजस्ता सुन्दर र रमणीय हिमश्रृंखलासँगै गोर्खाको लिगलिगकोट, नारायणघाट बजार, पोखरा लगायतका अन्य थुप्रै जिल्लाका स्थानहरु देख्न सकिन्छ ।


१३ घरमा सञ्चालित होमस्टेमा प्रत्येक घरमा ४ वटाको दरले कोठा र ८ जनाको दरले पर्यटक राख्ने क्षमता रहेको छ । होमस्टेमा जाने पर्यटकले स्थानीय उत्पादन मकै भट्मास, तामाको अचार, सिन्की, कोदाको सेलरोटी, लोकल रक्सी, लोकल कुखरा तथा खसीको मासु लगायतका थुप्रै स्थानीय उत्पादनको स्वाद लिन पाउनेछन् भने होमस्टेमा १ रात बसेवापत खानासहित प्रतिजना ८ सयको दरले शुल्क लाग्ने होमस्टे सञ्चालिका बिस्नुमाया गुरुङ्गले जानकारी दिइन् । उनले पुस महिनामा मात्रै १५० भन्दाबढि आनतरिक तथा बाह्य पर्यटक आएर बसेको बताइन् । होमस्टेको कारण दैनिक जिवनयापनमा सजिलो भएको पनि बताइन् ।


पोखराबाट ९१ किलोमिटर टाढा पर्ने पोखरा डुम्रे हुँदै पुग्ने सकिन्छ । लमजुङको ऐतिहासिक स्थल राइनासकोटमा सञ्चालित होमस्टेमा गुरुङ्ग जातिको बसोवास रहेको ठाँउ हो । राइनासकोटमा १४ घरधुरीको बसोवास छ । विदेशीको सहयोगमा स्थानीय महत्व झल्कने गरि बनाइएका प्रत्येक घरहरु एक तले र भूकम्प प्रतिरोधात्मक छन् । डेढ करोड लगानी उक्त घरहरुमा बिदेशी लगानीसँगै सूर्योदय सेवा साधनको योजना अनुरुप तथा स्थानीयको पहलमा निर्माण भएका हुन् । राइनास नगरपालिका विकासको लागि लागिरहेको बताउँदै नगरपालिकाका कार्यकारी अधिकृत देबबहादुर अधिकारी भन्छन्, ‘बिकासका धेरै सम्भावना बोकेको पर्यटकीय ठाँउ हो ।’


१८ हजार जनसंख्या रहेको यस नगरपालिकामा कृषि तथा पशुपालनसँगै पर्यटन प्रवद्र्धन गर्ने र्याफ्टिङ्ग लगायतका प्रचुर सम्भावना छन् । यस ठाँउको पर्यटन प्रवद्र्धनमा विकास गर्न गुरुयोजना बनाएर अगाडी बढ्ने उनले बताए । पूर्व गाविस अध्यक्ष ऋषिकेश घिमिरेले नामले नगरपालिका भए पनि विकास हुन नसकेको बताए । कृषिको धेरै सम्भावना भएपनि नहर जीर्ण भएकाले कृषकले सास्ती खेप्नुपरेको बताए । उनले उक्त ठाँउमा राम्रो कलेज, हस्पिटलको पनि अभाव खड्किएको बताए । कृषिका लागि नहर, कलेज, हस्पिटल र पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ्ग मुख्य ४ कुराले सबैभन्दा महत्वपूर्ण रहेको सुनाए ।


वडा नं २ का अध्यक्ष रामचन्द्र अधिकारीले बिभिन्न धार्मिक तथा पर्यटकीयस्थल भएको लमजुङको विकास हुन नसकेको गुनासो गरे । उनले वडा कार्यालयसमेत आमा समुहको भवनमा सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा विकासका गुरुयोजना बनाएर जाने पनि उनले बताए । जनज्योती आमा समुहकी अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य इन्दिरा पोख्रेलले महिलाहरु बिसंगती हटाउने काममा लागेको बताइन् उनले महिलाले पनि आयआर्जन गर्नु पर्छ भन्ने सोचका साथ कृषि समुह गठन गरि कुखरा पालन गरेको बताइन् । बाटोघाटो नहरको राम्रो सबिधा नभएको गुनासो गर्दै उनले स्थानीय विकासमा सरकारले सहयोग गरेमा कृषि कार्यलाई अगाडी आत्मनिर्भर हुन सकिने बताए ।


बाइसे चौबीसे राज्य शासनमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घन्टाको पैदल यात्रा र दुई घन्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । राइनास नाम वा कसरी रह्यो भन्ने प्रश्नमा वडा नं ५ का रामचन्द्र भटट्ले शाहावंशीहरुले राइनासको बस्ती भएको यस क्षेत्रमा राइहरुको नास गरि आफ्नो राज्य सञ्चालन गरेको हुँदा रागीनास नाम रहेको र पछि त्यो नाम अपभ्रश हँुदै राइनास नाम रहन गएको किवंदन्ती रहेको वडाध्यक्ष अधिकारीले बताए । राइनासकोट क्षेत्र लमजुङको घले गाँउ पछिको दोस्रो प्रकृतिमा धनी मानिएको मनोरम स्थल हो । यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमशृंखला देख्न सकिन्छ । ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका इतिहास बोकेका स्थल जीर्ण अवस्थामा रहे पनि त्यसको सम्वद्र्धन र प्रचारप्रसारका लागि सरकारी निकायबाट चासो जति चासो नदिइएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २४ पुष २०७४, सोमबार ११:३५