सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेकै पहिलो कोरोना बिशेष आइसोलेसन अस्पताल बन्द

बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताल आजदेखि बन्द भएको छ । आइसोलेसन अस्पतालका रुपमा स्थापना गरिएको २ बेड भेन्टिलेटर, ६ बेड आइसीयुसहित ५० बेडको कोरोना बिशेष आइसोलेसन अस्पताल बन्द गरिएको हो ।

क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले स्थापना भएको अस्पताल खजुरालाई प्रदेश ५ सरकारले गत बैशाखदेखि कोरोना बिशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो । खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पताल बन्द भएसँगै त्यहाँबाट पाउने सेवा नेपालगन्जको भेरी अस्पतालमा दिइनेछ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हालसम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आइसोलेसन सेन्टरका रुपमा दिइने सेवा अबदेखि भेरी अस्पतालले दिने बताए । कोरोनाको जोखिमकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने हुँदा कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको हो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका डा.प्रविण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षिय पुरुषलाई आइसोलेसन सेन्टरमा राखेर दिइएको सेवा हालसम्म १९७ जना कोरोना पोजेटिभको सफल उपचार भएर सबै जनालाई घर पठाइएको जानकारी दिए । उनले आज अन्तिम लटमा २२ जना ब्यक्तिहरु कोरोना जितेर घर फर्किएसँगै आगामी दिनमा क्यान्सरको उपचार गर्ने गरी कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।

प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा कोरोना बिशेष अस्पताल सञ्चालनमा थियो । त्यस समितिमा डा.प्रकाश थापाको संयोजकत्वमा बिज्ञ तथा प्राविधिक टिम, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको संयोजकत्वमा आवास भोजन तथा यातायात लगायतका उपसमितिहरु समेत सहभागी भई सफल कोरोना बिशेष अस्पतालका रुपमा ब्यबस्थापन गरिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १३:४५