सूचनाको शक्ति - The Power Of Information

        

देशभर २८९ कैदीबन्दी जेलमुक्त, नेपालगन्ज कारगारका चार जनाको कैद मिनाहा

काठमाडौं । सरकारले शनिबार २८९ जना कैदीबन्दीलाई सजाय छुट दिँदै जेलमुक्त गर्ने भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिको स्वीकृतिमा कैदीबन्दीलाई सजाय माफि गरेर छाड्न लागिएको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले २८९ जना कैदीबन्दीलाई सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ कैदीबन्दीलाई सजाय छुट दिने सरकारको प्रस्ताव स्वीकृत गरेकी हुन् ।

५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीबन्दीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्न व्यवस्थाअनुसार जेलमुक्त गरिने भएको हो । यसरी छुट्ने कैदीबन्दीमा सबैभन्दा धेरै वागमती प्रदेशका र कम कर्णाली प्रदेशका रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, वागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीबन्दीलाई छाडिने भएको हो । त्यसैगरी, प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीबन्दीलाई छाडिने भएको छ ।

बिदा भए पनि उनीहरुलाई शनिबार नै छाडिने कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए । कारागार व्यवस्थापन विभागले करिब ३०० जना कैदीबन्दी छाड्न सूची सरकारलाई बुझाएको भए पनि केही कैदीबन्दीले भने सजाय छुट नपाउने भएका हुन् । खासगरी ज्येष्ठ नागरिकको विषयमा कानुन बाझिँदा छाड्न नमिलेको हो ।

फौजदारी कानुनअनुसार जबरजस्तिकरणीको मुद्दामा सजाय तोकिएका कैदीबन्दीलाई सजाय छुट गर्न मिल्दैन । तर ज्येष्ठ नागरिक ऐनमा ६५ वर्षमाथिकाले कैद छुट पाउने व्यवस्था छ । यो ऐनअनुसार ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले २५ प्रतिशत, ७० वर्ष पुगेकाले ५० प्रतिशत र ७५ वर्षमाथिकाले ७५ प्रतिशतसम्म कैद छुट पाउने व्यवस्था छ ।

तर जबरजस्तिकरणी गम्भीर अपराध भएकाले सो मुद्दामा जेल सजाय तोकिएकालाई भने ज्येष्ठ नागरिक ऐनअनुसार कैद छुट नगर्ने निर्णय भएको हो । गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसका अवसरमा सजाय माफी गरेर कैदीबन्दीलाई जेलमुुक्त गरिँदै आएको छ । यसअघि गणतन्त्र दिवसमा २३३ कैदीबन्दी छुटेका थिए । देशभरका कारागारमा १४ हजार २७ कैदीबन्दी छन् ।

यीमध्ये करिव ७० प्रतिशत खराब सूचीका कैदीबन्दी रहेको विभागले जनाएको छ । यस्तै १० हजार १३६ थुनुुवा छन् । उनीहरूलाई पुर्पक्षका लागि थुनामा राखिएकाले छाड्न मिल्दैन । कर्तव्य ज्यान, जबरजस्तिकरणी, भ्रष्टाचार, लागुऔषध, मानव बेचविखन, बन्यजन्तु तस्करी लगायतका मुद्दालाई नकारात्मक सूचीमा राखिएको छ ।

नेपालगन्ज कारगारका चार जनाको कैद मिनाहा

संविधान दिवसकै अवसरमा कैद सजाय मिनाहा गरेकामध्ये नेपालगन्ज कारागारका चार जना परेका छन् । जेलर देवेन्द्र श्रेष्ठका अनुसार बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिंह कामी टमटाको कैद मिनाहा भएको हो ।

क्षेत्रीलाई ज्यान मार्ने उद्योग र डाकाचोरी, थापा तथा बस्नेतलाई सवारी ज्यान र टमटालाई कर्तब्य ज्यान मुद्दा लागेको थियो । कारागार प्रशासनले पाँच जना जेष्ठ नागरिकको कैद मिनाहाका लागि अनुरोध गरे पनि उनीहरुले माफी पाउन सकेनन् । अधिकांश जेष्ठ नागरिक जबरजस्ती करणीमा जेल परेका हुन् । नेपालगन्ज कारागारमा हाल ७८५ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार ०९:२५