सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

‘सापटको किट’ले कोरोना परीक्षण

बाँके । भेरी अस्पतालमा पीसीआर किटको अभाव भएसँगै कोभिड–१९ परीक्षण रोकिएको छ । पीसीआर किट अभावका कारण असोज १ गतेदेखि भेरीको प्रयोगशालामा कुनैपनि स्वाब परीक्षण हुन सकेन । प्रयोगशालामा स्वाब परीक्षण नभएपछि भेरीले कुनै पनि रिर्पोट सार्वजनिक गरेको छैन ।

लक्षण चिन्ह देखिएका विरामीबाहेक अरुको भाइरस संक्रमण परीक्षण गर्न सकिने अवस्था अहिले भेरीसँग छैन । पैसा नै तिरेर परीक्षण गर्छु भने पनि किट अभावका कारण पीसीआर परीक्षण सम्भव नभएको भेरी अस्पतालले प्रादेशिक अस्पताल सुर्खेतबाट सापटमा २७० पीसीआर किट ल्याएको छ ।

अस्पतालमा उपचाररत् विरामीहरुको परीक्षण गर्नै समेत किट नभएपछि सापटीमा प्रादेशिक अस्पतालबाट किट ल्याउनु परेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताए । उनले कोभिड–१९ परीक्षणको कार्य प्रभावित भएपछि रातारात सुर्खेत पुगेर पीसीआर किट सापटमा ल्याएर परीक्षण भइरहेको बताए ।

उनले भने, ‘सीमित मात्रामा पीसीआर किट ल्याइएकोले आपतकालिन तथा अस्पतालमा उपचाररत विरामीबाहेक अन्यको पीसिआर परीक्षण गर्न असमर्थ छौं ।’ एक हप्तादेखि ल्यावमा किटको अभाव रहेको बताउँदै डा.थापाले भने, ‘केन्द्रबाट आउने टुंगो छैन, रातारात सुर्खेत पुगेर किट लिएर आयौं ।’ किट लिन मेसु थापा आफैं सुर्खेत गएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार ०८:२५