सूचनाको शक्ति - The Power Of Information

        

टमाटरले मूल्य नपाउँदा किसान मर्कामा

बझाङ । थलारा गाउँपालिका–४ मोयलका किसानले बारीभरि टमाटर फलाएका छन् । तर, उनीहरू आफूले उत्पादन गरेको टमाटरले उचित मूल्य नपाएको भन्दै चिन्तित भएका छन् । सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा आयातित टमाटर सस्तो हुन थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन् । आयातित सस्तो टमाटरसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन ।

प्रतिस्पर्धा गर्न नसक्दा घाटा खाएरै व्यापार गर्नुपरेको किसानहरूको गुनासो छ । बजारमा आयातित टमाटर प्रतिकिलो १५० रुपैयाँमा बिक्री भइरहेको छ । तर, स्थानीय किसानहरुले उत्पादन गरेको टमाटर अहिले प्रतिकिलो मुस्किलले १२० रुपैयाँमा मात्रै बिक्री गर्नुपर्ने बाध्यता छ ।किसानहरु चिन्तित हुँदै भन्छन्, ‘यहाँका व्यापारीले सस्तो माल आयो भने बाहिरकै किन्छन्, अर्गानिक समान चिन्दैनन् ।’

उत्पादन बढी, जिल्ला बाहिरका बजारमा निकासीको समस्या, बाहिरबाट आयातित टमाटर स्थानीय बजारमा भित्रिनु, कच्चा पदार्थको रूपमा प्रयोग गर्न नसक्नु तथा मूल्य श्रृखंलाका कार्य गर्न नसक्दा टमाटरमा व्यापक समस्या आएको छ । मेहनत अनुसार बजार मूल्य नपाउँदा टमाटर खेती गर्ने किसानहरू मर्कामा परेका छन् ।

बेमौसमी तरकारी खेती गरी टमाटर फलाएका किसानहरूले मेहनत अनुसारको मूल्य नपाएपछि मर्कामा परेका हुन् । बाहिरबाट आएको टमाटर बजारमा प्रतिकेजी १५० मा बिक्री भइरहँदा मोयलमा उत्पादन भएको टमाटर ब्यापारीले मुस्किलले १२० रुपैयाँ दिने गरेको थलारा गाउँपालिका–४ मोयलका स्थानीयबासी पदम बिष्टले बताए ।

‘बारीमा लटरम्म टमाटर फलेका छन् । धेरै दिन राख्दा कुहिने डर हुन्छ । बजार लियो मूल्य पाइँदैन । बजार टाढा भएकाले घरमै किन्न कोही आउँदैनन् । विक्री वितरणमा असहज भएपछि टमाटर बारीमै कुहियो । स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिए राम्रो हुने थियो,’ अर्का किसान गजेन्द्रबहादुर ओलीले भने, ‘यहाँका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरुले बजार मुल्य पाउनै समस्या भएको छ ।’ उनले व्यापारीलाई सस्तो मुल्यमा विक्री गर्न बाध्य भएको बताए ।

मेहनत अनुसार मूल्य नपाउँदा किसानहरु कृषि पेशाबाट पलायन हुने अवस्था आएकाले स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ । उचित मुल्य र बजार नपाउँदा कृषि पेसातर्फ स्थानीयहरुको रुची घट्दै गएको अगुवा किसान रामप्रसाद जोशीले बताए । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले गाउँपालिकाले पशु र कृषि क्षेत्रमा कार्यक्रम र बजेट छुट्याएको जानकारी दिँदै कषिजन्य बस्तुको बजार व्यवस्थापनमा ध्यान दिने बताए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार ११:४५