काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको आरोप लगाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको आरोप कांग्रेसको छ।
लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका–नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको प्रवक्ता शर्माको भनाई छ।
प्रतिपक्ष दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको समेत नामाकरण गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भने र प्रचार गर्न नहुने उनले बताएका छन्।
संवैधानिक परिषदको व्यवस्था अनुसार राज्यका महत्वपूर्ण अंगहरुमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने धारणा कांग्रेसका भए पनि आफूहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उनले प्रष्ट पारेका छन् ।
उनले व्यक्तिको योग्यता, क्षमता र मर्यादा कस्तो हुनुपर्छ भन्ने कुरामा कांग्रेसले प्रष्ट धारणा राख्ने भए पनि यो पद दिनैपर्छ नभए निर्णय गर्न दिँदैनौँ भनेर आफूहरुले नभनेको बताए।
सत्यपाटी ।