काठमाडौं । एसिड आक्रमणमा परी घाइते भएका सबैकाे जीवनभरको सबै उपचार सरकारले गर्ने भएको छ।
सरकारले उपचार गराउने र जीवनभर उनीहरूले लिन सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए। सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको उनले उल्लेख गरे।
यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ।
एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ।
सत्यपाटी ।