सूचनाको शक्ति - The Power Of Information

        

मौसमविद् भन्छन्, चिसो अझै बढ्छ


काठमाडौँ । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्रीसेल्सियस छ ।
घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ । मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो । अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ ।
महाशाखाका अनुसार काठमाडौँमा यही २० गते न्यूनतम एक दशमलव पाँच डिग्रीसेल्सियस रहेको थियो भने शुक्रबार र आज १ दशमलव ६ आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस आठ दशमलव पाँच र सबैभन्दा बढी विराटनगरमा सात दशमलव सात डिग्रीसेल्सियस छ । रासस

प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०९:५२