सूचनाको शक्ति - The Power Of Information

        

जलपंक्षीको गणना सुरु, विज्ञ भन्छन्, ‘घट्दैछ चराको संख्या’


चितवन । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा)को गणना सुरु भएको छ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो । गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए ।
उनका अनुसार चरा गणना कार्य माघ ७ गतेसम्म चल्नेछ । गणनामा ३ सय स्वयंसेवक तथा चराविज्ञको सहभागिता रहनेछ । आज पहिलो दिन शुक्लाफाँट र कोशीटप्पुबाट गणना गरिएको भन्दै डा बरालले अन्य क्षेत्रमा माघ ७ गतेभित्रमा आआफ्नो अनुकूलतामा देशैभरिको सिमसार क्षेत्रमा गणना हुने जानकारी दिए । चितवनमा भने केही दिनमा गणना थालिने चराविज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीले बताए ।
अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो । तर चराको संख्या भने घट्दो क्रममा रहेको चराविज्ञले बताएका छन् । यसपटक सिमसार सूचीमा सूचीकृत नेपालको ५ वटा तालमा समेत चराको गणना हुनेछ । मुख्यगरी चितवनको विसहजारी ताल, कपिलवस्तुको जगदिशपुरताल, पोखराको फेवाताल लगायत क्षेत्रमा पनि चराको गणना हुनेछ ।
अघिल्लो अनुगमनमा चितवनमा सिमसार क्षेत्रभरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको वर्ड एजुकेशन सोसाइटी चितवनले जनाएको छ । त्यसको अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएका थिए । जिल्लामा चराको संख्या ६३४ प्रजातिको अभिलेख छ । नेपालमा ८८७ प्रजातिका चरा छन् । अहिले विभिन्न देशबाट चरा नेपाल बसाइँ सरेर जाडो छल्न नेपाल आएका छन् । रासस

प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०९:४८