सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्रादेशिक महोत्सवको तयारी तीव्र


बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सव २०७४ को तयारी तीव्ररुपमा अगाडि बढाइएको छ । नेपालगन्जको सडक विभाग परिसरमा आगामी माघ ११ गतेदेखि २२ गतेसम्म संचालन हुने महोत्सवको प्रचार प्रसारका साथै महोत्सव स्थलमा भौत्तिक पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अगाडि बढाइएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।
उनले महोत्सव स्थलमा स्टल निर्माण, मञ्च, बालउद्यान र अन्य मनोरञ्जनका पूर्वाधार निर्माणको काम तीव्ररुपमा अगाडि बढाइएको र प्रचारप्रसार पनि गरिरहेको जानकारी दिए । अध्यक्ष वैश्यले नेपाल सरकारबाट ५० वर्षका लागि भोगाधिकार प्राप्त उक्त ठाउँमा बहुउद्देश्यीय सभागृह निर्माण सहयोगार्थ महोत्सवको आयोजना गर्न लागिएकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखे ।
कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग, व्यापारको पवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सवको चिनारी भन्ने मूल नारा बोकेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ आयोजक र साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना, सहआयोजक रहेका छन् । महोत्सवमा करीब ३ सय स्टल राखिने जनाइएको छ ।
कला, संस्कृति र उत्पादनको प्रदर्शनी गरी महोत्सवबाट करीब १ करोड मुनाफा आर्जन गर्ने लक्ष्य राखिएको छ । विभिन्न वस्तुगत संघ संगठनहरु संघका पूर्व नेतृत्व गरिसकेका उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको ७५१ सदस्यीय मूल आयोजक समिति निर्माण गरी महोत्सवको तयारीलाई तीव्रता दिइएको हो । महोत्सवलाई थप आकर्षक बनाउनका लागि राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुती रहनुका साथै पिङ, बाल उद्यान तथा विभिन्न प्रकारका बस्तुको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०९:३४