काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।
हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ ।अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
दाङको तुल्सीपुर विमानस्थलमा निगमले उडान भर्ने तयारी गरेको हो भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ‘तत्कालै त्यस्तो योजना छैन, अहिले पाइलट पनि छैनन्, विमान पनि कम छन् । भएका गन्तव्यमै नियमित उडान भर्न समस्या छ, पछि विमान थपिए विस्तार गरिन्छ ।’
निगमले सानो विमानले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ । निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ । रासस
।