सूचनाको शक्ति - The Power Of Information

        

पद गुमेपछिको छटपटी

निर्वतमान अर्थमन्त्री खतिवडालाई ‘बालुवाटार न्यास्रो, अमेरिका प्यारो’

काठमाडौं । निर्वतमान अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ बालुवाटार भित्रयाउन चाहन्छन् । तर खतिवडाको मन भने बालुवाटार भन्दा अन्यत्रै जान पाए हुन्थ्यो भन्ने देखिन थालेको छ ।

खतिवडा निकट स्रोतका अनुसार, उनलाई अहिले अर्थमन्त्रीबाट खुस्काउन र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि उकास्नमा ओलीकै निकट मानिएका महासचिव विष्णु पौडेल र ओलीकै किचेन क्याबिनेटमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमाल सम्म लागेका बुझाईमा खतिवडा छन् ।

उनले आफु निकटसँग अचेल धुम्बाराहीस्थित निवासमा बसेर त्यस्तै ब्रिफिङ गर्न थालेका छन् । ओलीको किचेन क्याबिनेटमा रहेका सल्लाहकारहरु विष्णु रिमालदेखि राजन भट्टराईसम्म आफ्नो बालुवाटार प्रवेश रोक्न अहिले तानाबानामा लागेको र त्यही टिमसँगै दिनदिनै बालुवाटारमा बसेर प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने खतिवडाले बताउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले भने खतिवडालाई क्याबिनेटबाट मन्त्रीस्तरको सेवा सुविधा दिलाउने गरी प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा नियुक्ति दिलाउन खोजेका थिए । त्यसो गर्दा अर्थमन्त्रीमा डिफ्याक्टोका रुपमा अन्य नेतालाई नियुक्ति दिलाए पनि खतिवडाकै भरमा बालुवाटारभित्रैबाट अर्थ मन्त्रालयका नीति कार्यक्रम र योजनाहरु बनाउन खोजेका थिए ।

तर खतिवडाले त्यस्तो प्रधानमन्त्रीको रुचीमा खास इन्टेस्ट देखाएका छैनन् । उनले आफुलाई बरु अमेरिकाको राजदुतका रुपमा नियुक्त गरेर पठाउन ओलीसँग सिधै नभएपनि सन्देशवाहकमार्फत कानसम्म सन्देश पुरयाउन थालेका छन् । अमेरिकामा अहिले राजदुत पद रिक्त छ ।

वालुवाटारमा रिमाल, भट्टराई, सूर्य थापा लगायतका सल्लाहकारहरुको घेराभित्र वसेर काम गर्नुभन्दा अमेरिकाको राजदुत भएर जानु हितकर हुने वुझाईमा यतिवेला खतिवडा छन् । ओलीले उनलाई सरकार वाहिर रहेपनि महत्वपूर्ण जिम्मेवारी दिने वताईसकेका छन् । त्यस्तो जिम्मेवारीका हकमा उनले अमेरिकाको राजदुत आफनो पहिलो रोजाईको पद हुने सन्देश ओलीकँहा पुर्याएका छन् ।

अब ओलीले आफुले चाहे अनुसार उनलाई बालुवाटारभित्रको किचेन क्याबिनेट भित्र हुल्ने र आर्थिक सल्लाहकार बनाउने या खतिवडाले चाहे अनुसार अमेरिकाको राजदुत भएर जाने ? यी दुईमध्ये एक विकल्पमा खतिवडाको अबको कामको टुग्गो लाग्ने स्रोतको भनाई छ । अमेरिकाको राजदुत अहिलेका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि ताकेका छन् ।

पार्टीभित्रै उनको विकल्प खोज्न दबाव बढेमा र ओलीले आफनो पद जोगाउन प्रमुख सल्लाहकार फेर्ने नीति लिएमा रिमालले अमेरिकाको राजदुत बनेर जाने योजना बनाएका थिए । केही समय अगाडी ओलीको नीति सचिवालयका सदस्यहरु हेरफेरको विषय प्रवेश पाउँदा उनको पद पनि धरापमा परेको थियो ।

तर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आग्रह गर्न लगाएर रिमालले त्यसवेला पद जोगाएका थिए । आफुलाई अप्ठयारो परेमा अमेरिका राजदुत भएर जाने योजनामा रिमाल रहेका कारण नै त्यहाँ अहिलेसम्म राजदुत नियुक्त हुन नसकेको हो । त्यही रिक्त पदमा अहिले खतिवडाले पनि आँखा लगाएका छन् । प्रधानमन्त्री ओलीले खतिवडाको हकमा अब कुन निर्णय लिन्छन्, आफुले चाहे अनुसारको या खतिवडाले रोजे अनुसारको ? त्यसका लागि भने अझै केही दिन कुर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १४:२२