सूचनाको शक्ति - The Power Of Information

        

अन्तिम खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी, ट्वान्टी-२० वरियताको शीर्ष स्थानमा कायमै

काठमाडौं। इङ्ल्यान्डविरूद्धको अन्तिम खेलमा पाँच विकेटको विजय हासिल गरेपछि अस्ट्रेलिया आईसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियताको शीर्ष स्थानमा कायमै रहन सफल भएको छ।

साउथह्याम्पटनको रोज बाउल रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। १४६ रनको अस्ट्रेलियाले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा २-० ले अग्रता लिएपछि इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको थियो। तर तेस्रो खेलको जितसँगै अस्ट्रेलिया पुनः शीर्ष स्थान कब्जा गर्न सफल भएको हो।

कोभिड-१९ महामारीका कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको गत मार्चपछि यो पहिलो हो। इङ्ल्यान्डले भने गत जुलाईबाट निरन्तर अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ। जसमा इङ्ल्यान्डले राम्रो नतिजा पनि निकालेको छ। इङ्ल्यान्डले वेष्ट इन्डिज, पाकिस्तान र आयरल्यान्डसँग टेस्ट शृंखला खेलेको थियो।

अस्ट्रेलियाविरूद्ध ओपनर जोनी बेयरिष्टोले ५५, जो डेनलीले २९, मोइन अलीले २३ र डेविड मलानले २१ रन बनाएका थिए। अस्ट्रेलियाका एडम जम्पाले दुई तथा मिचेल स्टार्क, जोस हाजलेउड, केन रिचर्डसन र एष्टन अगरले एक/एक विकेट लिए।

अस्ट्रेलियाका कप्तान एरोन फिन्च र मिचेल मार्शले समान ३९ बनाए भने मार्कुस स्टोइनिसले २६, म्याथ्यु वेडले १४ रन बनाए। अगरले १६ रनमा अविजित रहे। इङ्ल्यान्डका एडिल रशिदले तीन तथा मार्क उठ र टम कुरानले समान एक एक विकेट लिए।

विश्वकप विजेता इङ्ल्यान्डले अब अस्ट्रेलियाविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार ०९:२०