सूचनाको शक्ति - The Power Of Information

        

विकास

खजुरा औद्योगिक ग्राम निर्माणको काम ‘फाष्ट ट्रयाक’मा

‘औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास छ ।’

बाँकेको खजुरामा निर्माण हुने औद्योगिक ग्रामको स्केच ।

बाँके । बाँकेको खजुरा गाउँपालिकाले ४० करोडको लगानीमा निर्माण भइरहेको खजुरा औद्योगिक ग्रामको भौतिक पूर्वाधारको कामलाई अगाडि बढाएको छ । औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ । अहिले औद्योगिक ग्राम निर्माणका लागि काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेपछि काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार औद्योगिक ग्रामको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) दुई महिनाअघि तयार भई पूर्वाधार निर्माण सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा प्राप्त भएको ९२ लाख रुपैयाँको बजेटबाट पहिलो चरणको निर्माण कार्य अगाडि बढाइएको उनले बताए । उनले पहिलो चरणमा औद्योगिक ग्रामको २१ बिघा जग्गा संरक्षणका लागि तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणका साथै औद्योगिक ग्रामसम्म पुग्ने १२ मिटर चौडा ग्राभेल सडक निर्माणको काम पनि सुरु गरिएको बताए ।

गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले डीपीआरअनुसार बजेट माग गर्ने र काम पूरा गर्दै जाने बताए । हाल खजुरा गाउँपालिका–५ पुरैनामा औद्योगिक ग्राम निर्माणको काम तीव्ररुपमा अगाडी बढेको योजना अधिकृत पौडेलले बताए । औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ ।

कक्षपतिले भने, ‘औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास छ ।’ कक्षपतिले औद्योगिक ग्राम निर्माणको काम ‘फाष्ट ट्रयाक’मा भइरहेको उनले बताए । कोरोना संक्रमणका कारण केही समस्या देखिए पनि छिटोभन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनका लागि निर्माणको काममा तीव्रता दिइएको उनले बताए ।

नमुना गाउँपालिकामा रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठुला लगानीकर्ता आकर्षित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको गाउँपालिका प्रमुख कक्षपति बताउँछन् । त्यसका लागि औद्योगिक ग्राममा मात्र होइन अन्य ठाउँमा समेत पूर्वाधार विकासका काम भइरहेको उनको भनाई छ ।

कक्षपति भन्छन्, ‘नयाँ नयाँ लगानीकर्ताको आर्कषण भएको पाएका छौं । आगामी दिनमा यसलाई अझ बृद्धि गर्दै लैजान्छौं ।’ लगानीकर्तालाई खजुरामा आकर्षित गर्न कोरोना सङ्क्रमणको अन्त्यपछि लगानी सम्मेलन पनि गरिने अध्यक्ष कक्षपतिले बताए । पछिल्लो समय शिक्षा, स्वास्थ्य, कृषि र औद्योगिक क्षेत्रमा खजुराले फड्को मार्दै गएको अध्यक्ष कक्षपतिले बताए ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर्षमा ३२ वटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे अनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको हो । पहिलो चरणमा छनौट भएका प्रदेश नं. ५ का ३२ वटा स्थानीय तह मध्ये गाउँपालिकामा खजुरा मात्र परेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार ०९:५२