सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतका दुई हजार बालबालिकासँग छैन आमाबुबाको काख

वीरेन्द्रनगरको सडकमा सुतिरहेका बालबालिका ।

वीरेन्द्रनगरको सडकमा सुतिरहेका बालबालिका ।


डिलप्रसाद शर्मा । सुर्खेत । जिल्लामा बालबालिकामाथि जोखिम बढ्दै गएको पाइएको छ । जिल्ला बाल कल्याण समिति सुर्खेतद्धारा सार्वजनिक तथ्यांक अनुसार बालबालिका माथि हिंसा, दुर्व्यवहारलगायतका अन्य जोखिम बढ्दै गएको पाइएको हो । जिल्लाका करिब दुई हजार बालबालिका अभिभावकविहिन छन् ।
जिल्ला बाल कल्याण समितिको प्रतिवेदन २०७४ अनुसार सुर्खेतमा ८८ हजार ४३ जना बालक र ८६ हजार ५५८ जना बालिका गरी एक लाख ७४ हजार ६०० एक जना बालबालिका छन् । यीमध्ये २०७३/०७४ मा तीन जना बालबालिका घरेलु हिंसाबाट पीडित भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै ४४ जना बालबालिका बालश्रम गर्न बाध्य छन् भने २६ जना बालिकामाथि जबरजस्ती करणी भएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी १८ जना बहुविवाह र दुई जना बालबालिका बेचविखन तथा ओसारपसारमा परेको तथ्यांकमा उल्लेख छ । प्रतिवेदनअनुसार सुर्खेतमा ८७ जना लागु औषध तथा दुर्व्यसनमा छन् भने दुई जना एचआईभी संक्रमित छन् । तीन दशमलब २० प्रतिशत बालबालिका कुपोषित छन् ।
समितिको प्रतिवेदनमा रहेको उक्त तथ्यांक हेर्ने हो भने जिल्लामा बालबालिकामाथि हिंसा बढ्दै गएका छन् जसले गर्दा बालबालिकाहरू असुरक्षित बन्दै गएको पाइएको छ । बालबालिकाका क्षेत्रमा सरकारी तथा गैर–सरकारी संघसंस्थाले करोडौं लगानी गर्दै आएका छन् । जिल्ला बाल कल्याण समिति सुर्खेतका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले अभिभावक गैरजिम्मेवार बन्दा बालबालिका असुरक्षित बन्दै गएको बताए । कमजोर आर्थिक अवस्थाका कारण अभिभावकले समेत वास्ता नगर्ने गरेको पाइएको उनले बताए ।
‘थोरै पैसा कमाएर लगेपछि घरपरिवार खुसी हुन्छन्,’ उनी भन्छन्, ‘पढ्ने उमेरमा सन्तानले फोहोर संकलन गर्दै छ भन्ने बारेमा आमाबुवा नै जानकार छैनन् ।’ जिल्लामा करिब दुई हजार बालबालिका अभिभावकविहीन रहेको उनले उल्लेख गरे । अभिभावक विहीन भएका बालबालिकाहरूलाई समाजमा स्थापित गर्न गाह्रो हुने उनको भनाइ छ । संरक्षणकोे अभावका कारण बालबालिका दिनप्रतिदिन कुलतमा फस्दै गएको अधिकृत आचार्यले बताए ।
बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालयमा भयरहित वातावरणमा पठन पाठन गर्दै आएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । यद्यपी बालमैत्री शिक्षाको अवधारणअनुसार शिक्षा प्रदान गर्न नसकिएको उनले बताए । जनचेतनाको अभावका कारण पनि बालबालिकाहरू असुरक्षित बन्दै गएको जिशिअ शाहको भनाइ छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले महिला हिंसा नै बालहिंसाको जग भएको भन्दै उनले महिला हिंसा न्यूनीकरणतर्फ सबै एकजुट हुनुपर्ने बताए ।
केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति डम्बरबहादुर रोकायका अनुसार प्रत्येक वर्ष झण्डै एक हजार दुई सय बालिकाहरूको बेचबिखन हुने गरेको छ । उनले करिब सय जनाको मात्रै प्रहरीले रिपोर्टिङ गर्ने गरेको बताए । मुलुकका ४४ जिल्लामा ५७७ बालगृहमा १६ हजार ४०० बालबालिका बस्दै आएका छन् । बाल गृहमा रहेका बालबालिकाहरूमध्ये ६० प्रतिशत बालबालिकाका बुवाआमा नभएको पाइएको उनले बताए । यस्तै, ८० प्रतिशत बालबालिकाका बुवा वा आमामध्ये एक जीवित रहेको पाइएको छ ।

प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०७:०९