बाँके । प्रदेश नं ५ मा प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्ने २५९ प्रहरी कारवाही परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्नेलाई कारबाही गरिएको छ ।
प्रहरीको आचरण बिपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नती रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धि प्रतिकुल राय दिनेजस्ता कारवाही भएको प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले जानकारी दिए ।
प्रदेश नं ५ मा आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा कारवाहीमा पर्ने प्रहरीको संख्या दोब्बर रहेको छ । आव. २०७५/०७६ मा १७६ प्रहरीलाई कारवाही गरिएको थियो भने आव. २०७६/०७७ मा २५९ प्रहरी कारवाहीमा परेका छन् ।
जसमा सबैभन्दा धेरै नसिहतमा १२७ जना छन् । त्यस्तै चालचलन सम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरु स्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात, स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन् ।
हजार पुरस्कृत
गत आवमा प्रदेश नं ५ बाट एक हजार प्रहरीलाई पुरस्कृत गरिएको छ । जसमा सबैभन्दा धेरै बाँकेका १३२ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने रुपन्देहीका १२७, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका १०५ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम(पूर्व)का ५७ जना पुरस्कृत भएका छन् ।
त्यस्तै ५ नं प्रदेश प्रहरी कार्यालय दाङका ५०, ५ नं प्रदेश तालीम केन्द्र बुटवलका आठ, ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तीन, ५ नं प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ र ५ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ प्रहरीलाई पनि पुरस्कृत गरिएको छ ।
सिर्जनशील काम गरेको, तोकिएका ठाउँमा जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल प्रहरीलाई सम्मान गरिएको हो ।
सत्यपाटी ।