सूचनाको शक्ति - The Power Of Information

        

भीरबाट फालेर श्रीमानको हत्या

रुकुम । रुकुममा एक महिला आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बाफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढा रहेकी छिन् ।

बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् । केही दिनअघि श्रीमान् बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी थिइन् । गाउँवासी मिलेर खोज तलासमा लागे पनि तीन दिनसम्म भीमबहादुरको शव भेटिएन ।

चौथो दिन दिउँसो घरदेखि २०० मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी भन्छन्, ‘पति बियोगको पीडा देखाएकी महिलामाथि सुरुमा शंका गर्न पनि सकिएन । दोश्रो दिनदेखि त्यस घरको खानतलासी सुरु गरियो । घरमा लिपपोत र श्रीमान सुत्ने गरेको खाट अन्यत्र सारेको पाइयो ।’

प्रहरीले त्यसपछि उनलाई शंकाको घेरामा राखेर सोधपुछ गर्दा उनले आफूले हत्या गरी डोकोमा बोकेर भीरमा लगेर फालेको स्वीकार गरेको केसीले जानकारी दिए । प्रहरीका अनुसार त्यसदिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेसमा आएर हत्या गरेको बयान दिएकी छन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार १४:४०