सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा अब सवारी लाइसेन्सको परीक्षा सधैं खुला, पाँच दिनमै नतिजा आउने


बाँके । यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जमा पनि अनलाइन प्रणालीबाट फर्म भरेर सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिने व्यवस्था गरिएको छ । कार्यालयले बिहीबार सूचना प्रकाशित गरी अनलाइन प्रणालीबाट फर्म भरेर लाईसेन्सको परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।
कार्यालय प्रमुख विनोदकुमार पोखरेलका अनुसार यही २५ गतेदेखि अनलाइन फर्म भर्न सकिने छ । अनलाईन सुविधासँगै फर्म भर्न लामो समयसम्म लाईनमा बस्नुपर्ने बाध्यता अब हट्ने भएको छ । त्यस्तै लाईसेन्सका परीक्षामा सहभागि हुन महिनौं कुर्नुपर्ने बाध्यता टर्ने भएको छ । मोटरसाईकल, स्कुटर र कारजीपको लाइसेन्सका लागि २५ गतेदेखि अनलाइन फर्म भर्न सकिने व्यवस्था मिलाइएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।
नयाँ व्यवस्था अनुसार अनलाईन फारम भरेको भोलिपल्ट नै कार्यालयले बायोम्याट्रिक (कम्प्यूटरबाट फोटो खिच्ने) र मेडिकल गर्ने व्यवस्था मिलाएको छ भने फोटो खिच्ने र मेडिकल गरेको भोलिपल्टै लिखित परीक्षा लिइने छ । त्यस्तै लिखित परीक्षा दिएको भोलिपल्टै परीक्षार्थीले ट्रायल दिन पाउने छन् । नयाँ व्यवस्था अनुसार अब फर्म भरेको पाँच दिनभित्र नै उत्तिर्ण भएको वा अनुत्तिर्ण भएको नतिजा आईसक्ने छ । तर उत्तीर्ण परीक्षार्थीले लाइसेन्सका लागि तिरेको शुल्कबापत प्राप्त गरेको रसिदलाई नै केही समय लाइसेन्स मान्नुपर्ने भएको छ ।
किनभने यातायात व्यवस्था कार्यालय भेरी, नेपालगन्जले अबदेखि स्मार्ट लाईसेन्स दिने भएकाले तत्कालै उपलब्ध गराउन सक्ने अवस्था छैन । ‘अब जति पनि लाइसेन्स दिइन्छ, ती सबै स्मार्ट हुनेछन् । जुन बनेर आइपुग्न करिब तीन महिना लाग्ने देखिन्छ । स्मार्ट लाइसेन्स हातमा नपर्दासम्म शुल्क तिरेको रसिदले नै लाइसेन्सको काम गर्नेछ,’ कार्यालय प्रमुख पोखरेलले भने ।
यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np मा रहेको अनलाइन फर्म सिस्टमबाट आइतबारदेखि बुधबारसम्म अनलाइन फर्म भर्न सकिने यातायात व्यवस्था कार्यालयले जनाएको छ । नयाँ प्रविधिबाट फर्म भर्ने व्यवस्था पहिलो पटक सुरु गर्नुअघि विभागले यहाँका सबै कर्मचारीहरुलाई तालिम पनि दिइसकेको छ । ‘विभागबाट आएर हामीलाई तालिम पनि दिइएको छ । सुरुवाती चरणमा केही प्राविधिक कठिनाई भएपनि दुई तीन महिनाभित्र परफेक्ट हुने विश्वास हामीले लिएका छौं,’ प्रमुख पोखरेलले भने ।

प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार १०:१६