सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरी अस्पतालमा २२ सय रुपैँयामै कोरोना जाँच

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले शुल्क लिएर पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको छ । अस्पतालमा सञ्चालनमा रहेको पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएको हो ।

शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति पाएसँगै अस्पतालले स्वैच्छिकरुपमा आरटी–पिसिआर विधिबाट कोरोना जाँच शुल्क निर्धारण पनि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेकोभन्दा बाहिरका ब्यक्तिले कोरोना जाँच गराउँदा २२ रुपैँया कोरोना जाँच शुल्क निर्धारण गरेको छ ।

भेरीले शुल्क लिएर पिसिआर परिक्षण गराउने चर्चा चुलिएसँगै नेपालगन्जका आमनागरिकले लागत मुल्यमा घाटा नहुने गरी मुल्य तोक्न माग गरेका थिए । आमनागरिकको भावना र मागको कदर गर्दै अस्पतालले पिसिआर परिक्षणका लागि २२ सय रुपैयाँ तोकेको अस्पताल व्यवस्थापन समितिका अध्ध्यक्ष प्रमोद धितालले बताए ।

उनकाअनुसार समितिको आज बिहीबार दिउँसोको बैठकले २२ सय शुल्क तोकेको हो । भेरीमा शुक्रबारदेखि नै इच्छुक व्यक्तिको कोरोना पिसिआर परिक्षण गरिने अध्यक्ष धितालले जानकारी दिए । ‘कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेकोभन्दा बाहिरका ब्यक्तिले कोरोना जाँच गराए शुल्क तिर्नुपर्नेछ,’ उनले भने ।

अब अस्पतालले ब्यक्तिगत प्रयोजनका लागि पिसिआर जाँच गराउनेहरुसँग शुल्क लिनेछ । प्रशासनको सिफारिसको आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीको निशुल्क कोरोना जाँच गरिनेछ । कोरोनाको लक्षण देखिएर अस्पतालमा भर्ना भएका विरामी, गरिव, असहाय, जेष्ठ नागरिक र कोरोनाको संकेत देखिएका विरामीको भने निशुल्क कोरोना परीक्षण गरिने अध्यक्ष धितालले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १९:००