बाँके । भदौं १४ गते राप्तीसोनारी गाउँपालिका–१, कुसुमका चेवन देवकोटाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । उनीसँगै तीन वर्षिय बालक लिलाधर खड्काको पनि मृत्यु भयो । खड्कालाई सर्पले डसेपछि उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा खड्कासँगै देवकोटाको पनि मृत्यु भयो । यो एउटा प्रतिनिधिमूलक घटनामात्र हो ।
एम्बुलेन्स नभएकै कारण सर्पले टोकेका विरामीलाई मोटरसाइकलमा नेपालगन्ज ल्याउँदै गर्दा दुवैको मृत्यु भयो । तर एम्बुलेन्स खरिदका लागि चार बर्षअघि लिएको रकमबाट एम्बुलेन्स खरिद कहिले हुने हो कुनै पत्तो छैन । एम्बुलेन्स नहुँदा राप्तीसोनारी–१, कुसुमका सर्वसाधारणलाई बिरामी हुँदा मृत्युको त्रास हुन्छ । कतिले अकालमै ज्यान गुमाएका छन् ।
राप्तीसोनारी–१, कुसुमका अधिकांश विरामीले सवारी साधन नपाउँदा दुख पाउने गरेका छन् । एम्बुलेन्स नहुँदा अधिकांश विरामी मोटरसाइकलमा नेपालगन्ज र कोहलपुर आउने गर्छन् । ‘कोही विरामी परेमा कोहलपुर र बैजापुरबाट एम्बुलेन्स बोलाउनुपर्छ । यहाँ बोलाउनुभन्दा मोटरसाइकलमा लैजान छिटो हुन्छ । एम्बुलेन्स नहुँदा मोटरसाइकलमा लैजानुको विकल्प छैन ।
उनले आर्थिक बर्ष २०७३/०७४ मा एम्बुलेन्स खरिदका लागि रकम लगेर नकिन्दा स्थानीयले दुख पाएको बताए । सांसद विकास कोषबाट लगेको रकम सरोकारवाला निकायले खोजविन गरि एम्बुलेन्स खरिदका लागि दवाव दिनुपर्ने उनको भनाई छ । ‘राज्यको रकम लगेर गायव बनाउन पाइदैन । जसले जुन प्रयोजनका लागि लगेको हो, त्यसैमा खर्च गर्नुपर्छ । एम्बुलेन्स खरिद गरि त्यहाँका जनतालाई राहत दिनुपर्छ भन्ने मेरो र नेकपाको माग छ,’ उनले भने ।
कुसुमका स्थानीय मनोज बैश्यको अध्यक्षतामा गठन भएको एम्बुलेन्स खरिद, सञ्चालन तथा ब्यवस्थापन समितिले संविधान सभा सदस्य देवराज भारको सांसद विकास कोषबाट साढे ८ लाख रुपैँया लिए पनि अहिलेसम्म खरिद गर्न नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । एम्बुलेन्स खरिद समितिका अध्यक्ष बैश्यले सरकारी कागजपत्र मिलाउन समय लागेकोले समयमा खरिद गर्न नसकेको बताए ।
आर्थिक बर्ष २०७३/०७४ को असार मसान्तभित्र खरिद गरिसक्ने सम्झौता गरेको उक्त समितिले अहिलेसम्म एम्बुलेन्स खरिद नगरेको जिल्ला एम्बुलेन्स सञ्चालन समितिका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । एम्बुलेन्स खरिदका लागि सांसद विकास कोषबाट रकम लिएर खरिद नगरेको जानकारीमा आएपछि समितिका अध्यक्ष बैश्यलाई बोलाउँदा नआएको उनले बताए ।
‘माननीय देवराज भार ज्यूले गुनासो गरेपछि कुरा बुझ्नका लागि एम्बुलेन्स खरिद समितिका अध्यक्ष बैश्य जीलाई मंगलवार बोलाएको थिएँ, तर उहाँ आउनु भएन,’ प्रजिअ कुरुम्बाङले भने । संविधानसभा सदस्य देवराज भारको सांसद विकास कोषबाट आठ लाख ५० हजार लिएको बताउँदै उनले कोषले दिएको रकमले एम्बुलेन्स खरिद गर्न नपुगेको बताए । उनले राप्तीसोनारी गाउँपालिकाबाट थप दुई लाख रुपैँया लिएको बुझिएको छ ।
जनता समाजवादी पार्टीका स्थानीय नेता हिक्मत विकले एम्बुलेन्स छिटो खरिद गर्न दवाव दिए पनि समितिले बेवास्ता गरेको बताए । विनियोजित रकमबाट एम्बुलेन्स छिटो खरिद गर्न उनले माग गरे । नेकपा, बाँकेका सचिवालय सदस्य तथा बाँके क्षेत्र नं. १ का इन्चार्ज सुर्य ढकालले एम्बुलेन्स नहुँदा कुसुम क्षेत्रका विरामीले समस्या झेल्दै आएको बताउँदै तत्काल एम्बुलेन्स खरिद गर्न माग गरेका छन् ।
उनले स्वास्थ्य मन्त्रालयले गाउँमा सञ्चालन हुने एम्बुलेन्स फोर ह्वीलर हुनुपर्ने नीति बनाएका कारण रकम अपुग भएको बताए । ‘भन्सार छुटका लागि मन्त्रालयले सिफारिस दिन मानेन । किन्ने तयारी भएकै बेला निर्वाचनको आचारसंहिता लागू भएर कसैले थप रकम दिन मानेन,’ एम्बुलेन्स खरिद, सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष बैश्यले भने, ‘एउटाले दिएको योजनामा अर्को निकायले रकम थप गर्न नमान्दा समस्या भएको हो ।’
जिल्ला समन्वय समितिले राप्तीसोनारी गाउँपालिकालाई पत्र पठाएपछि गाउँपालिकाले भन्सार छुटका लागि मन्त्रालयमा अर्को पत्र पठाइसकेको छ । ‘खरिद गर्ने तयारी भएको बेला कोरानाका कारण लकडाउन भयो । त्यसपछि अर्को आर्थिक बर्ष सुरु भयो । पछिल्लो समय सिफारिसका लागि पत्र गएको छ । चाँडै खरिद प्रक्रिया सुरु हुन्छ,’ बैश्यले भने, ‘मन्त्रालयबाट भन्सार छुटको सिफारिस आउने वित्तिकै महिन्द्रा कम्पनीको एम्बुलेन्स खरिद प्रक्रिया सुरु हुन्छ ।’
बाँकेको कुसुम क्षेत्रमा एम्बुलेन्स समस्या खड्किएको छ । भौगोलिक दूरीका हिसाबले टाढा रहेको यसक्षेत्रमा मुस्किलले एम्बुलेन्स पुग्ने गरेका छन् । अझ कोरोना भाइरस संक्रमणको महामारीबीच एम्बुलेन्सको सहज उपलब्धता हुन नसक्दा आपतकालिन उपचारका लागि जोखिम मोलेरै कुसुम क्षेत्रका नागरिकहरु आफ्नै तथा अर्काका नीजि सवारी साधनमा अस्पताल आउने गरेका छन् ।
सत्यपाटी ।