सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

५० प्रतिशत छुटमा कोरोना बीमा

बाँके । बाँकेमा पछिल्लो समय कोरोना बीमा गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । बीमा कम्पनी र स्थानीय तहका वडा कार्यालयमा बीमा गर्नेको भीड देखिन थालेको हो । वडा कार्यालयबाट सिफारिस लिएर आउनेको बीमा शुल्कमा ५० प्रतिशत छुट हुने भएपछि वडा कार्यालयमा बीमा गर्नेको भीड देखिन थालेको हो ।

नेपालगन्जस्थित शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक यज्ञबहादुर बस्नेतले बन्दाबन्दीको सुरुवातमा कोरोना बीमा गर्नेको चासो नदेखिए पनि पछिल्लो समय बीमा गर्नेको सङ्ख्या बढेको बताए । शिखर इन्स्योरेन्सले नेपालगन्ज क्षेत्रमा असारसम्म २१ सय व्यक्तिको कोरोना बीमा गरेकोमा त्यसपछिको डेढ महिनामा दोब्बर बढीको बीमा भएको छ ।

‘असार अघिसम्म बीमाका लागि सङ्घसंस्था र कार्यालयमा खोजीखोजी जाँदा पनि चासो कम थियो,’ शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बस्नेतले भने, ‘अहिले आफैँ बीमाका लागि कार्यालय खोज्दै आउनुभएको छ । कोरोना बीमा गरेका व्यक्तिमा सङ्क्रमण देखिएमा एक लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्छ ।’ शिखर इन्स्योरेन्समा बीमा गराएकामध्ये २० जनामा सङ्क्रमण देखिएको छ ।

उनीहरूमध्ये एक जनालाई बीमाबापतको रकम भुक्तानी गरिसकिएको क्षेत्रीय प्रबन्धक बस्नेतले जानकारी दिए । वडा कार्यालयले सिफारिस गर्दा बीमा शुल्कमा ५० प्रतिशत छुट हुने गरेका कारण चाप भएको नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनाले जानकारी दिए । सिफारिस नभएको अवस्थामा बीमा गर्दा ६०० रुपैयाँ भुक्तानी तिर्नुपर्छ । स्थानीय तहको सिफारिस भएपछि ३०० रुपैयाँ मात्रै तिर्नुपर्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०८:२४