सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा पीसीआर ल्याब सञ्चालनको तयारी थालियो

बर्दिया । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि १५ दिनभित्र बर्दियामा पीसीआर ल्याब सञ्चालन हुने भएको छ । जिल्लामा कोरोना परीक्षण गराउनेको संख्या बढ्दै गएपछि पीसीआर ल्याब सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

पीसीआर ल्याब सञ्चालनका लागि तत्कालिन जिल्ला विकास समितिको मौज्दात कोषमा रहेको बजेटबाट एक करोड रुपैँया दिने निर्णय भएसँगै ल्याब सञ्चालनमा आउने जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरीले बताए ।

पीसीआर ल्याव निर्माण, सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका चौधरीले बजेटको सुनिश्चितता भएसँगै प्रि काष्ट प्रविधिको भवन निर्माणका लागि निर्माण कम्पनीसँग प्रक्रिया अघि बढेको छ ।

निर्माण कम्पनीले अबको पाँच दिनभित्र संरचना निर्माण गरिसक्ने र एक महिनाभित्रमा ल्याव सञ्चालनमा आउने संयोजक चौधरीले बताए । भविष्यमा बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर केही समय अघिदेखि पीसीआर ल्याब सञ्चालनको तयारी थालिएको उनको भनाई छ ।

बर्दियाका प्रमख जिल्ला अधिकारी लिलाधर अधिकारीले महिला विकास कार्यालयको भवनमा आइसोलेसन निर्माण गरिनुका साथै लक्षणसहितको संक्रमित देखिएमा उनीहरुलाई राख्न भेन्टिलेटरसहितको सुविधा भएको आइसोलेसनको व्यवस्था पनि गर्न थालिएको प्रजिअ अधिकारीले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १७:०२