सूचनाको शक्ति - The Power Of Information

        

चीनले हटायो १००० वर्ग किलोमिटर क्षेत्रबाट भारतीय सेना

युद्ध ट्यांकसहित सैन्य अभ्यास गरिरहेका चिनियाँ सैनिक ।

एजेन्सी । भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ ।

भारतीय सञ्चारमाध्यमले भने चीनले १००० वर्ग किलोमिटर भूभाग कब्जा गरेको दावीसहित विभिन्न सनसनीपूर्ण सामग्री प्रकाशन/प्रसारण गरिरहेका छन् । भारतमा प्रकाशन हुने अंग्रेजी अखबार द हिन्दुले पनि गुप्तचर स्रोतलाई हवाला दिँदै लद्दाखमा चीनले ९०० वर्ग किलोमिटर क्षेत्रमा नियन्त्रण गरेको जनाएको छ ।

भारतीय सुरक्षाकर्मीले गस्ती गर्ने गरेको पेट्रोलिङ बिन्दु १०–१३ देखि देप्साङ्गसम्म अहिले चिनियाँ सैनिक तैनाथ भएका छन् । अप्रिलदेखि नै चीनले भारतसँगको सीमामा सैनिक तैनाथी व्यापक बनाएको छ । देप्साङ्ग मैदानदेखि चुसुलसम्म चीनले एलएसीसमेतलाई समेटेर व्यवस्थित तरिकाले सेना परिचालन गरेको छ ।

गलवान उपत्यकामा २० वर्ग किलोमिटर, हट स्प्रिङ भनिने स्थानमा १२ वर्ग किलोमिटर, पेंगोङमा ६५ वर्ग किलोमिटर र चुसुलको २० वर्ग किलोमिटर क्षेत्र पनि चीनले नियन्त्रणमा लिएको छ । यसअघि सो क्षेत्रमा पनि भारतले सेना खटाउँदै आएको थियो । सीमामा चीनको उपस्थिति बलियो भएको तथ्यलाई भारतले पनि स्वीकार गरेको छ ।

भारत सरकारले सोमबार पूर्वी लद्दाख क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको आरोप लगाएको थियो । गत जुन १५ को राती पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा भएको हिंस्रक झडपमा भारतका २० सैनिक घटनास्थलमै मारिएका थिए । झडपमा थुप्रै सैनिक गम्भीर घाइते भएपनि भारत र चीन दुवैले ती सैनिकको अवस्था गोप्य नै राखेका छन् । त्यसयता दुवै देशबीच तनाव कम गर्न वार्ता भएको भनिएको छ, तर मुठभेडको स्थितिका लागि दुवैले सामरिक शक्ति सीमामा केन्द्रित गरिरहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:४२