सूचनाको शक्ति - The Power Of Information

        

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

लण्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्केका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ ।

मृतक मोरिसको पहिचान औपचारिक रूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् । यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुन तस्बिर नेपालमा खिचिएको थियो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो । उनका तीन सन्तान र श्रीमती छन् । रासस

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०८:५६