काठमाडौं । केही दिनयता मनसुन खासै सक्रिय नरहेको नेपालमा भोलि (सोमबार)देखि भने वर्षा केही बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा औसत स्थान (नेपालदेखि दक्षिण भारत)मै रहे पनि बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।
यसैको प्रभावले सोमबारदेखि वर्षा केही मात्रामा बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । ‘भोलिबाट अलि धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा भारी वर्षा पनि हुने सम्भावना देखिएको छ,’ मौसमविद् श्रेष्ठले भने । आज (आइतबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् श्रेष्ठका अनुसार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले सिमसिम पानी परिरहेको छ । ‘अब यो धेरै बेर रहने देखिन्नँ,’ उनले भने, ‘तर आज दिनभर मौसम खुल्ने सम्भावना छैन र दिउँसो पुनः केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।’ मौसमविद् श्रेष्ठका अनुसार दिउँसोलाई भारी वर्षाको सम्भावना छैन तर राति भने प्रदेश १ का एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
सत्यपाटी ।