सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

जनस्वास्थ्यविद् डा.पाण्डेले भने, ‘कोरोनाबाट नेपालमा ४९ हजारको मृत्यु हुने आँकलन गलत’

काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन् ।

यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २०० जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै डा. पाण्डेले त्यो आँकलन गलत भएको दाबीसहित खण्डन गरेका हुन् ।

उनले भनेका छन्, ‘एउटा अध्येताका नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’ शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भ्रमको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरेका छन् ।

‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्च विन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सही छैनन्,’ उनले लेखेका छन्, महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु ।’

शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘एउटा अध्येताको नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’

यसअघि अक्सफोर्ड विश्वविद्यालयले नेपालको सन्दर्भमा कोरोना भाइरसको संक्रमण कति धेरै हुन सक्छ र त्यसबाट कति मानिसको मृत्यु हुन सक्छ भनेर प्रक्षेपण गरेको थियो । प्रक्षपण अनुसार आउँदो पुस मध्य (सन् २०२० को अन्त्य) सम्ममा नेपालमा कोरोना भाइरसको संक्रमणबाट करीब ५० हजार मानिसको मृत्यु हुन सक्ने आँकलन विश्वविद्यालयले गरेको छ ।

बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागले उक्त प्रक्षेपण अनुसन्धानकर्ताहरुले अघि सारेको खोजपत्रको आधारमा गरेको हो । विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा.सुनिल पोखरेल, डा.दिप्ती लता र डा.राशिद जमानले गरेको उक्त अनुसन्धान प्रतिवेदन बेलायतको सरकारी वेबसाइटमा प्रकाशित भएको छ ।

https://www.facebook.com/sameer.rabindra/posts/3067338633364935

यो पनि : कोरोना संक्रमणबाट नेपालमा ४९ हजारको मृत्यु हुनसक्ने अध्ययनको निष्कर्ष

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १४:३३