सूचनाको शक्ति - The Power Of Information

        

कोरोना सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा.रामप्रसाद सापकोटाले जानकारी दिए । आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए ।

डा. सापकोटाले कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए । भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए । भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो । रासस

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १०:२७