सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाले खोस्यो रोजगारी, दैनिक हातमुख जोर्नै समस्या

फाइल तस्वीर

बाँके । कोरोना भाइरस संक्रमणको जोखिमको कारण बन्दाबन्दीको विकल्प देखिएन । यो आवश्यक छ भनेर सबैले स्वीकारेको विषय हो । यसैले पनि सबैले समर्थन गरेका छन् । तर, बन्दाबन्दी भए पनि किसानका समस्या थुप्रै छन् । जसका कारण दैनिक काम गरेर खानेहरुले रोजगारी गुमाउँदै गएका छन् ।

कोरोनाका कारण यातायात र बजार ठप्प हुँदा किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन सकिरहेका छैनन् । कोरोना महामारीको भन्दा बढि मारमा किसान र मजदुर परेका छन् । मजदुर दैनिक ज्यालादारी गर्न पाएका छैनन्, घरमै बस्नुपरेको छ । यसले दैनिक हातमुख जोर्न पनि समस्या भएका समाचारहरु आइरहेको छ ।

सरकारी निकायमा काम गर्ने दैनिक ज्यालादारी र करार मजदुरहरु पनि कामबाट निकालिएका उजुरीहरुसमेत सम्बन्धीत निकायमा पर्न थालेका छन् । अहिले दैनिक ज्यालादारी र करार मजदुरहरुले आफूहरुलाई कामबाट निकालिएको भन्दै श्रम तथा रोजगार कार्यालय बाँकेमा उजुरी दिन थालेका छन् ।

श्रम कार्यालय बाँकेका प्रमुख हरिशरण चौलागाईका अनुसार मजदुरहरु कामबाट निकालिएको बारे केही लिखित उजुरीहरुसँगै केही मौखिक गुनासा आएका छन् । उनले कामबाट निकालिएको मजदुर तथा कर्मचारीलाई पुनर्बहालीको प्रक्रिय सुरु गरिएको बताउँदै त्यसो नगरिए कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।

अखिल नेपाल ट्रेड युनियन महाँसघ बाँकेका अध्यक्ष बसन्त मल्लले सरकारी तथा निजी क्षेत्रबाट सयौं मजदुरहरुलाई निकालिएको जानकारी दिए । उनका अनुसार बाँकेका बिभिन्न कार्यालयहरुबाट ३३ जना करार तथा ज्यालादारी मजदुर तथा कर्मचारीहरुलाई कामबाट निकालिएको छ ।

नेपाल टेलिकम प्रदेश कार्यालयबाट मात्रै १३ जना मजदुर तथा कर्मचारी कामबाट निकालिएको उनले बताए । उनका अनुसार कृषि तालिम केन्द्र खजुराले पनि ठुलो मात्रामा कर्मचारी कटौती गरेको छ । नीजि क्षेत्रबाट सञ्चालित कोहलपुर नगरपालिका–१४ स्थित अम्बे स्टील प्रालि, रारा केमिकल्स, मनकामना फुडवेयरले पनि ठुलो संख्यामा कर्मचारी र मजदुर कटौती गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राजकुमार बिसीले कर्मचारी तथा मजदुर कटौतीविरुद्ध कानुनी उपचार खोजिएको जानकारी दिँदै सम्वन्धीत कार्यालय र उद्योगमा पनि दवावमूलक कार्यक्रम गरिएको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १४:३४