चार वर्ष पहिले नेपाली समाजलाई कुलमानका बारेमा जानकारी थिएन । अहिले कुलमान घिसिङ को हुन् भनेर हरेक परिवारलाई थाहा छ । कुलमान भन्ने नाम ‘उज्यालो’ भएको छ । कुलमानका कारणले नेपाल उज्यालो भएको छ । आजकल बिजुली गएमा मानिसहरू भन्ने गर्छन्, ‘आज कुलमानलाई के भएछ ?’
२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका कुलमानको कार्यकाल यो २०७७ सालको भदौ २९ गतेसम्म मात्रै छ । त्यसपछि यो पदमा को आउने हुन् ? जनतको मनमा कौतुहल रहेको छ । बहुसंख्यक जनता कुलमानलाई उक्त पदमा नदोर्याइए फेरि पनि लोडसेडिङको पीडा भोग्नुपर्ने पो हो कि भन्ने भयले त्रस्त छन् ।
एउटा सामान्य कर्मचारी जनताको मनमा बस्न सफल हुनु स्वभाविक नै हो तर नेपालको सन्दर्भमा सामान्य भने होइन । नेपालमा प्राय हरेक क्षेत्रमा नकारात्मक टीका टिप्पणी भइरहेको हुन्छ तर कुलमान मात्रै यस्तो शब्द (नाम) बनेको छ जुन सुन्नासाथ नेपाली मनमा सकारात्मक उर्जा प्रवाह हुन्छ ।
कुलमान त्यो जादूको नाम हो जसले वर्षौँदेखि चलेको र वर्षौँसम्म चल्ने आँकलन गरिएको लोडसेडिङको पीडा आफू नियुक्ति हुनासाथ नियन्त्रण गर्दै विस्तारै शून्यमा झारे । बिजुली नदिने तर न्यूनतम २० युनिटसम्म खपत गर्दा लाग्ने शुल्क भने उठाएर जनतालाई ठग्ने नेपाल विद्युत् प्राधिकरणलाई सही बाटोमा ल्याउने काम कुलमानले नै गरे ।
लोडसेडिङको तालिका बनाउने प्रबन्ध निर्देशक होइन विद्युत् प्राधिकरणको विस्तार र विकासको योजना बनाउने योजनाकार हुन् कुलमान । कुलमानले नै लोडसेडिङका कर्मचारीलाई इज्जतिलो संस्थान विद्युत प्राधिकरणका कर्मचारी बनाए । कुलमान कुशल व्यवस्थापक ठहरिएका छन् । जादू भएझैँ लोडसेडिङ अन्त्य हुन्छ भनेर हामी कसैलाई लागेको थियो त ? पक्कै थिएन ।
हामीसँग नकारात्मक उर्जा थियो । हुँदैन, कसैले गर्न सक्तैन, सबै खानै पल्केका छन्, नेताले गरेनन् आदि भनिरहन्थ्यौँ । कुलमानले लोडसेडिङ हटाउने भन्दा हामीले पत्याएनौँ । उनले तिहारमा काठमाडौमा लोडसेडिङ नगर्ने भने । हामीलाई गफ लाग्यो । पछि कार्यान्वयन हुँदा अचम्म मान्यौँ । अनि विश्वास जाग्यो । विद्युत् असमान वितरण भएको रहेछ ।
कुलमानले त्यो असमान वितरणको अवस्थालाई अन्त्य गरे । साँझको समयमा ज्यादा विद्युत् खपत हुने समय हो । यो समयमा उनले उद्योगलाई विद्युत् दिन कटौती गरेछन् । त्यसो भएपछि सर्वसाधारणले आफ्नो आवश्यक समयमा बिजुलीको उपभोग गर्न पाए । विस्तारै जनताले विद्युत् खपत बढाउने उपकरण इन्भर्टर आदिको प्रयोग गर्न छोडे ।
यसले गर्दा ‘पिक आवर’मा हुने विद्युत् खपत् घटेर गयो । समग्रमा विद्युत् उपभोग बढ्दै गयो । विविध उपकरण चार्ज गर्न खर्च हुने विद्युत् बचत पनि भयो । उद्योगहरू पनि ‘पिक आवर’भन्दा अन्य समयमा निर्बाध सञ्चालन हुने अवस्था बनेछ । अपुग बिजुली भारतबाट खरीद गरियो । कतै लिइयो र कतै दिइयो । नयाँ विद्युत् गृहको निर्माणमा पनि उनी तदारुक भएर लागे । विस्तारै लोडसेडिङको अन्त्य भयो ।
कुलमानले लोडसेडिङ अन्त्य गर्न सबैभन्दा पहिले नेपालीसँग भएको नकारात्मक उर्जा फालेर फालेर सकारात्म उर्जा भरिदिएछन् । एकजना कर्मचारी लागि परेर काममा लागिदिने हो भने सानो काम गरेर ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण हुन् कुलमान । कुलमानको नियुक्ति गरेर तत्कालीन सरकार र उर्जामन्त्रीले नेपालीलाई ठूलो गुन लगाएकै हुन् । कुलमान एक्लैले यो उज्यालो अभियान पूरा गरेका होइनन् ।
कुलमानसँगै लागि परेको उनको समूह र प्राधिकरणका कर्मचारी धन्यवादका पात्र हुन् । कुलमान असल अभिभावक बने र अन्य कर्मचारीहरूले असल अभिभावकत्व स्वीकार गरे । नाम चर्चामा नआए पनि कुलमान जत्तिकै स्तुत्य छन् कुलमानसँग सहकार्य गर्नेहरू पनि । मार्गदर्शन अभिभावकको नै हुने भएकाले गुणदोष कुलमानकै हुने भयो । त्यसैले कुलमान चर्चामा आए भनेर कसैले मुन्टो बटार्नु आवश्यक छैन ।
कुलमानले सम्मान पाउनु विद्युत् प्राधिकरण र यसका सम्पूर्ण सदस्यले सम्मान पाउनु हो । कुलमानको नाम आइरहँदा प्राधिकरणका सम्पूर्ण कर्मचारी खुसी हुन्छन् भन्ने मेरो बुझाइ छ किनकि कुलमानको सफलतामा सबै कर्मचारीको योगदान छ । कुलमानका प्रस्तुतिहरू हेर्दा उनी सामूहिक भावनालाई महत्त्व दिने व्यक्ति हुन् भन्ने बुझ्न पनि गाह्रो छैन । आफूले पाएको जसको हिस्सा उनले प्राधिकरणका सदस्यसँग पनि बाँडिरहेको देखिन्छ ।
विद्युत् प्राधिकरणजस्ता सरकारको लगानीमा थुप्रै संस्थान, बोर्ड र उद्योग रहेका छन् । हामीलाई तिनका प्रमुखको नाम थाह छैन । सरकारको लगानीमा रहेका कतिपय उद्योगहरू बन्द भइसकेछन् र कतिपय रुग्ण अवस्थामा रहेका छन् । कुशल व्यवस्थापकको अभावमा नै त्यस्ता सरकारी लगानीका संस्थान र उद्योगको बेहाल भएको स्पष्ट छ । घाटामा गएको प्राधिकरणलाई कुलमानले सुधारेको नजिर अन्य त्यस्तै प्रकृतिका सङ्गठनका लागि उदाहरण बनेको छ ।
तर ती सङ्गठनका निर्लज्ज प्रबन्धकहरू संस्थान घाटामा गए पनि कुर्सीमा सुतेर तलबमात्रै होइन कुर्सी ओगटेबापत उपहार (कमिसन, घुस)समेत पड्काइरहेका छन् । यदि त्यसो नभएको भए त्यस्ता संस्थानमा सुधार नहुनुको कारण के त ? बहाना अनेक हुनसक्छन् । विद्युत् प्राधिकरणमा पनि बिजुलीको उत्पादन कम भएकाले नै लोडसेडिङ गर्नुपरेको कारण दिइन्थ्यो तर यो त पूर्ण सत्य त होइन रहेछ ।
ब्यवस्थापक राम्रो हुने हो भने राम्रो हुनेरहेछ भन्ने प्रमाण त देखियो । अब ती निकम्मा ब्यवस्थापकलाई टिप्तै फाल्दै गर्न सरकारलाई कुन काँडेतारले छेकेको रहेछ ? पहिलोपटक प्रधानमन्त्री बनेको अनुभव पाएपछि प्रचण्डले काम गर्न खोज्दा आफूलाई कर्मचारीको असहयोग भएको कुरा बताएका थिए । उनको प्रसङ्ग के थियो, उनै जानून् तर एउटा कर्मचारी इमानदार भए धेरै हुन्छ भन्ने उदाहरण कुलमान हुन् ।
कर्मचारीले चाहे मात्रै पनि धेरै हुने रहेछ । त्यसो भए विभिन्न कार्यालय सम्हालेर बसेका कर्मचारीका नेतृत्व के गरिरहेका छन् त ? अन्दाज गर्न सकिन्छ तर स्पष्ट उत्तर पाउन गाह्रो छ । कोरोनाको महामारी चलिरहेको छ । भारतबाट धेरै नेपालीहरू जोखिमपूर्ण यात्रा गरेर नेपाल आए । धेरै युवाहरू नेपाल आए, अब नेपालमा बसेर नै केही गर्नुपर्छ भन्ने आदर्श भावनाका समाचारहरू पनि छाए । धेरै भागमा धान रोपिएका समाचार पनि आए ।
अहिले नेपालमा र नेपालभन्दा भारतमा कोरोना आतङ्क झन् उच्च भएर गएको छ । कयौँ दिन खाली खुट्टा हिँडेर आफ्नो घर फर्किएका तिनै नागरिक खेतीले मात्रै खान नपुग्ने भएकाले जोखिम मोलेरै मजदुरी गर्न भारततर्फ जान थालेका खबर आएका छन् । यो अवस्थालाई कसरी हेर्ने? धानका लागि मल किन्न पनि क्रमस सरकारले कृषिमा लगानी गरेकै छ, अझ अनुदान पनि दिएको छ । कृषि प्राविधिकहरूको दरबन्दी पनि छ । जमिन पनि छ ।
कोरोना महामारीले गर्दा देखिएको अवस्था नियाल्दा कृषिको लगानी अन्य कुनै मजदुरीभन्दा दिगो हुने पनि धेरैले बुझेका छन् । तब किन मानिसहरू जोखिम मोलेर नै भारत जाँदै छन् त? उत्तर पनि सहज छ, हेरेर मर्नुभन्दा छेरेर मर्नु नै जाती । मलाई कसैले सुनाएका थिए कि काठमाडौँमा कोही यस्ता कृषिविज्ञ छन् जो अवकाश पाउने समयसम्म पनि काठमाडौँ छाडेर अन्त कतै गएकै छैनन् ।
कुनैबेला चिया विकास बोर्ड धनकुटामा नयाँ नियुक्ति भएर गएका एकजना आफन्त थिए । उनले त्यहाँको हाकिमलाई चियामा काम गर्ने मजदुरलाई अलिकति पैसा बढाएर दिनुपर्छ, खुशी भएर काम गर्छन्, अनुसन्धान पनि बढाउनुपर्छ भन्ने सल्लाह दिएछन् । हाकिमले पैसा नभएको उत्तर दिएछन् । अर्को वर्ष उक्त कार्यालयमा पैसा बढेर आएछ र ती कर्मचारीले फेरि त्यही प्रस्ताव राखे । हाकिमले हुँदैन भन्ने उत्तर दिएछन् ।
भनेछन्, ’माथि हाकिमसा’बले यसपालि तपाईँहरूकोमा अलि पैसा धेरै पारिदिएको छु । हामीलाई पनि हेर्नु है भनेका छन् । यस पटक त झनै सकिन्न ।’ अहिले बोयर जातको बोका भन्दै डेढदेखि दुईलाखमा गाउँगाउँमा बाँड्ने काम भएको छ । वास्तवमा एउटा बोका वा खसीको मूल्य कति हुनुपर्ने हो ? कसले निगरानी गर्ने ? दुई लाख पर्ने बाख्राबाट कति आम्दानी हुन्छ ? यो कति जायज हो ?
म बस्ने नगरपालिकाले पावरटिलरको अनुदानका लागि निवेदन माग गरेको थियो । एक लाख कृषकले जुटाउनुपर्ने र बाँकी नगरपालिकाले अनुदान दिने । मेरो परिवारबाट निवेदन दिइएको थियो । छनोट प्रक्रिया के थियो, थाहा भएन । दिइएका कागजात चेकजाँच गर्न, खेती गरिरहेको कि नगरेको भन्ने बुझ्न नगरपालिकाबाट कोही आएको पनि थाह भएन । पछि त्यही विषयमा नगरपालिकाले अनियमितता गरेको भन्ने खबर पढेँ ।
नगरपालिकाले दिनासाथ कुनै एक अनुदान लिने व्यक्तिले अर्कैलाई दुई लाखमा बेचेछन् । उनलाई एकलाख चोखो फाइदा भयो । यी सबै उदाहरणमा यदि सम्बन्धित कर्मचारीले आफ्नो इमान्दारी देखाएको भए कुलमानकै जतिको चर्चामा नआए पनि सकारात्मक काम पक्कै हुने नै थियो । यी केही उदाहरण मात्रै हुन् । स्थानीय निकायदेखि माथिसम्मै कर्मचरीको निकम्मापनको कारण नै देश यो अवस्थामा पुगेको जाहेर नै छ ।
असल अभिभावकको अभावमा तड्पिएर बसेका थुप्रै असल कर्मचारीहरू पनि नभएका होइनन् तर त्यस्ता कर्मचारी कुनैबेला कुलमान नदेखिएझैँ नदेखिएकामात्रै हुन् । अब अरू थुप्रै कुलमानहरू अगाडि आउनु र ल्याइनु आवश्यक छ । हाम्रो दिमागमा सरकारी कार्यालय (सरकारी लगानी वा स्वामित्वभएका संस्थान उद्योग समेत) र सरकारी कर्मचारी भन्नासाथ अनियमिता र भ्रष्टाचार भन्ने आइहाल्छ ।
कुलमानले काम पनि हुन्छ भन्ने बुझाउन सफल भएका छन् । त्यसैले पनि होला मानिसहरू अर्को कार्यकाल पनि प्राधिकरणमा कुलमानकै नेतृत्व चाहिरहेका छन् । कुलमानका पक्षमा सामाजिक सञ्जालमा जनदबाब आइरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणमा कुलमानकै नेतृत्वमा बनेका केही योजनाहरू रहेकाले अर्को कार्यकालका लागि पनि कुलमान नै नेतृत्वमा रहनुपर्छ भन्ने विचार अनुपयुक्त पनि होइन ।
अर्को आउँदा कस्तो आउने हो थाह छैन तर कुलमान नै रहिरहे अहिले भइरहेको अवस्थाबाट प्राधिकरण तल झर्दैन भन्ने विश्वास पनि छ जनसमुदायको । यो विचार सही पनि हो । बल्ल तङ्ग्रन लागेको प्राधिकरणलाई अरू आएर फेरि बिगार्लान् भन्ने चिन्ता हुनु स्वभाविक नै हो । यी सबै विषय विचार गर्दा कुलमानले नै प्राधिकरणमा निरन्तरता पाउनुपर्छ भन्ने मतलाई नै समर्थन गर्नु जरुरी देखिन्छ । यो भनिरहँदा अरू योग्यहरूले पनि अवसर पाउनुपर्छ भन्नेमा पनि हामी सचेत रहनुपर्छ । कुलमानलाई शुभकामना, साथमा सबै नेपालीलाई ।
#पहिलोपोस्ट
विमल गौतम ।